07/25/2025, 21:50:32

विचारः सन्दर्भः भीमसेन थापा २५१औँ जन्मजयन्ती


 साउन ९ गते अर्थात् राष्ट्रिय विभूति भीमसेन थापाको जन्म दिन । उनको २५१औँ जन्मजयन्ती भएको कारण उनलाई सम्झनु सान्दर्भिक हुनेछ । विशेषगरी अहिले किशोरावस्थामा रहेका लाखौँ विद्यार्थी वर्ग भीमसेन थापाजस्ता राष्ट्रका सपुतबारे जानकार रहनु अति आवश्यक छ । देशको इतिहास र गौरवबारे ज्ञान भएन भने आफ्नो अस्तित्वप्रति सचेत रहन सकिदैन ।
को थिए भीमसेन थापा ?
विसं १८३२ साउन ९ गते गोरखाको पिपलथोक गाउँको एक सामान्य परिवारमा पिता अमरसिंह थापा (बडा काजी होइन) र माता सत्यरुपाका सन्तानका रूपमा भीमसेनको जन्म भएको थियो । उनको जन्मस्थानबारे केही भ्रम पनि रहेको पाइन्छ । राजकाजको जिम्मेवारीबाट मुक्त भइसकेपछि उनले गोरखाकै बोर्लाङ गाउँमा हवेली बनाएर बसेका र आँपको ठूलो बगैँचासमेत बनाएका हुनाले कतिपय लेखकले उनको जन्मघर नै बोर्लाङ भनेर पनि लेखेको पाइन्छ । तर उनको जन्मस्थान पिपलथोक हो, बोर्लाङ हैन ।
नेपालको इतिहास अत्यन्तै रोचक, घोचक र रोमाञ्चक रहेको छ । परापूर्वकालदेखिकै इतिहास पल्टाउँदा अनेकौं ऐतिहासिक पात्रका भूमिकाले हामीलाई उद्देलित बनाउँछ । तर पनि स्वदेशका र विदेशका जति पनि इतिहासकार छन् तिनले नेपालका मुख्यतया तीन पात्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राष्ट्र सपुत भीमसेन थापा र राष्ट्र रक्षक जङ्गबहादुर राणाका बारेमा जति शब्द खर्चिए त्यति अरुका बारे खर्चेको पाइँदैन ।
राजा महेन्द्रको शासनकालमा परापूर्वकालदेखि  विभिन्न क्षेत्रबाट देशलाई असाधारण योगदान गर्ने महान व्यक्तित्वको छनोट गरी राष्ट्रिय विभूति निर्धारण गर्ने काम भयो । साहित्यकार बालकृष्ण समको संयोजकत्वमा रहेको  एक समितिले त्यो काम सम्पन्न गरेको थियो । यद्यपि उक्त समितिले गरेका काम गुनासोरहित भने थिएन । महाकवि देवकोटा, विद्यापति, राष्ट्र एकीकरणका नायक बहादुर शाह, अभिमानसिंह बस्न्यात आदिलाई समितिले बिर्सिएको थियो भने प्रजातन्त्र पुनस्र्थापनापछि सयौँ शहीदका साथै केही विभूति पनि थपिए तर त्यो पनि अपुरो नै रह्यो । तर भीमसेन थापालाई सुरुदेखि नै कुनै पूर्वाग्रह नराखी राष्ट्रले विभूतिको सम्मान दिँदै आएको छ । विसं २०२६ मा सरकारले भीमसेन थापाको चित्र अङ्कीत हुलाक टिकट जारी गरेर पनि उनको राष्ट्रिय सम्मान गरेको थियो ।
सामाजिक तथा आर्थिक सुधार  
नेपालको इतिहासको अतिनै संवेदनशील कालखण्डमा विसं १८६३ देखि १८९४ को ३१ वर्षसम्म देशको सर्वेसर्वा भई जिम्मेवारी सम्हालेका जनरल थापाका पोल्टामा जश र अपजश दुवै परेको पाइन्छ । सर्वसाधारण नेपालीले भीमसेन थापा भन्ने बित्तिकै सबैभन्दा पहिले र सजिलैसँग धरहरालाई सम्झन्छन् । उनले राजधानी काठमाडौँको टुँडिखेल नजिक बाध दरबारको छेउमा एक जोडी धरहरा बनाउन लगाएका थिए । विसं १८८२ मा उनले तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीको नाममा एउटा र आफ्नो नाममा एउटा गरी समानान्तर रुपमा दुईवटा धरहरा ठड्याएका थिए । तर दुर्भाग्यवस विसं १८९० भदौ १२ गते साँझ र राति गरी दुई पटक आएको ठूलो भूकम्पले दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो ।
पछि पूरै ध्वस्त भएको धरहरालाई छोडी केहीमात्र क्षतिभएको धरहराको पुनःनिर्माण गरियो । उक्त पुनःनिर्मित धरहरा १०० वर्षपछि अर्थात् १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुननिर्माणलाई उच्च प्राथमिकतादिई दुई वर्षभित्रै अर्थात् १९९२ सालमै त्यसको पुनःनिर्माण सम्पन्न गराए, जुन धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ । धरहरा भीमसेन थापाको कीर्ति भएकाले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
भीमसेन थापाले धरहरा मात्र बनाएका होइनन्, त्यसको नजिकै सुन्धारा पनि बनाएका थिए, जो अद्यापि छँदैछ तर अहिले पानी आउँदैन । खासमा दुईवटा धरहरा बनाउँदा चाहिने माटो खन्दा बन्न गएको ठूलो खाल्टोलाई सदुपयोग गरी सुन्धारा बनाइएको हो भनिन्छ । भीमसेनले पाल्पाको रिडी, गोर्खाको बोर्लाङ, बुँकोट, काठमाडौँको लगन गणबहाल आदि स्थानमा पनि आफ्ना कीर्ति राखेका छन्, जो अहिले जीर्ण अवस्थामा छन् ।
भीमसेन थापाको योगदानमा कमाराकमारी प्रथा उन्मूलन एक प्रमुख हो । धनी वर्गले गरिब परिवारलाई ऋण दिएर त्यसको वदलामा त्यस परिवारका छोराछोरीलाई बिना पारिश्रमिक काममा लगाउन कमाराकमारी बनाउने चलनलाई थापाले १८८७ सालमा लालमोहरमार्फत प्रतिबन्धित गरे । उनको यो नीतिप्रति घरमा कमाराकमारी राख्ने गरेका भारदार, शक्तिशाली र सम्पन्न वर्ग आदि थापासँग निकै रुष्ट भए । त्यतिखेरको परिप्रेक्ष्यमा यो निकै ठूलो परिवर्तनकारी कदम थियो ।
त्यतिखेरको समाजमा दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नु पर्ने अत्यन्तै गलत चलन व्याप्त थियो । यसले समाजमा एक प्रकारको विकृति र परिवारमा विग्रहसमेत ल्याएको थियो । मुख्तियार थापाले १८९३ सालमा लालमोहरमार्फत यो कुप्रथामाथि पनि प्रतिवन्ध लगाए । यसैगरी ब्राह्मण, क्षेत्री परिवारमा समेत प्रचलित मामा र फुपूका छोराछोरीबीच हुने विवाहलाई पनि उनले प्रतिवन्ध लगाए । तत्कालीन समाजमा अस्वभाविक वैवाहिक सम्बन्धमाथि राज्यले नै रोक लगाउनुलाई क्रान्तिकारी कदम मान्नु पर्दछ ।
काठमाडौँ उपत्यकाका विशेषगरी नेवार जातिमा धार्मिक, सांस्कृतिक पर्वमा आफ्नो क्षमताभन्दा बढी खर्च गरेर भएपनि भोजभतेर गर्नुपर्ने र पुरोहितले मागे जति दानदक्षिणा दिनै पर्ने चलन थियो । यसबाट आर्थिक अवस्था कमजोर भएका अधिकांश नेवार परिवार पीडित थिए र भोजकै लागि ऋणमा चुर्लुम्म डुब्न बाध्य थिए । यो मर्का बुझेर उनले १८८८ सालमा एक लालमोहर जारी गरी भोजभतेरमा गर्ने खर्च र पुरोहितले पाउने दानदक्षिणाको सीमा तोकिदिए र त्यसलाई उल्लङ्घन गर्ने यजमान र पुरोहित दुवैलाई दण्डसजायको समेत व्यवस्था गरेका थिए ।
भीमसेन थापाले गरेका सुधारमा बेठबेगार हटाउनु पनि महत्वपूर्ण मानिन्छ । बेठबेगार भनेको समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहुमहाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने कुप्रथा हो । श्रम शोषणको यो कुप्रथा तत्कालीन भारत, चीन र तिब्बतमा समेत व्याप्त थियो । थापाले १८८७ सालमा एक लालमोहर जारी गरी राजदरवार, सेना र युद्धसम्बन्धी काममा बाहेक अरु काममा पारिश्रमिक नदिई कसैले कसैलाई कुनै पनि काम लगाउन नपाउने, त्यसो गरेमा दण्ड सजायको भागिदार हुनुपर्ने नियम बसाले ।
आर्थिक क्षेत्रमा पनि उनले महत्वपूर्ण सुधार गरेका छन् । जमिनको नापी, मालपोत निर्धारण, मोही र तलसिङबीच बाली लिनेदिने कुरामा हुनेगरेको किचलो समाधान गर्न लालमोहर, नगद ऋणमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशतभन्दा बढी व्याज लिन नपाइने व्यवस्था, धानचामलको सरकारी मूल्य निर्धारण, भ्रष्टाचार नियन्त्रण प्रयास, नेपाल आउन चाहने विदेशीका लागि प्रवेशाज्ञा (भिसा)को अनिवार्यता आदि उनका उल्लेखनीय आर्थिक सुधारका प्रयास हुन् । नगद लेनदेनको प्रचलन अत्यन्त न्यून मात्र रहेको त्यस समयमा सरकारी कर्मचारीले सेवाग्राही सर्वसाधारणको घरगोठमा गई दुहुनो गाई, खसी, बोका आदि लिन्थे । उनले त्यसरी घुस खाने कर्मचारी र खुवाउने सेवाग्राही दुवैलाई दण्डित गर्ने व्यवस्था गरे ।
सेनाको आधुनिकीकरण
नेपाली सेनाको प्रधानसेनापति समेत भएका भीमसेन थापालाई नेपालीहरुले सम्झिनु पर्ने अर्को मुख्य कारण हो–सेनाको आधुनिकीकरण । उनले नेपाली सेनालाई आधुनिकीकरण र सुदृढ बनाउन फ्रान्सको समेत सहयोग लिएको पाइन्छ । सेनालाई आधुनिक तालिम, हतियार, पोसाक, व्यारेक, युद्धमा जाँदा सहयोगी भरिया दिने आदिको व्यवस्था उनकै देन हो । उनकै पालादेखि सेनाको फौजलाई टुँडिखेलमा नियमित परेड खेलाउने र सेनालाई दर्जा र दज्र्यानी चिन्ह प्रदान गर्ने चलन सुरु भएको मानिन्छ ।
सुगौली सन्धि
भीमसेन थापाको नामसँग नेपाल–अङ्ग्रेज युद्ध र सुगौली सन्धि पनि जोडिएर आउँछ । भारतका विभिन्न राजा रजौटासँग अङ्ग्रेजले सन्धि सम्झौताकै माध्यमबाट आफ्नो प्रभुत्व जमाएका थिए । नेपालसँग पनि त्यस्तै सन्धि गर्न भारतमा रहेको इष्ट इण्डिया कम्पनीबाट आएको दबाबयुक्त प्रस्तावलाई भीमसेनले अस्वीकार गरेका कारण नेपाल–अङ्ग्रेज युद्ध भएको थियो । यसमा भीमसेनले सन्धि गरेर भए पनि युद्ध टार्नुपथ्र्यो भन्ने तर्क एकथिरको पाइन्छ भने सन्धि गरेको भए नेपालको अवस्था पनि भारतका अन्य राज्यको जस्तै हुन्थ्यो र नेपाल पनि भारतमा बिलय हुन बाध्य हुनुपथ्र्यो भन्ने तर्क पनि जोडदार रुपमा रहेको छ ।
युद्धमा नेपाली पक्षले पहिले जितेका भू–भाग भारतलाई नै फर्काउने सर्तमा विसं १८७३ (सन् १८१६ मार्च)मा बाध्यतावस सुगौली सन्धि भयो । यस सन्धिका कारण नेपालले जितिसकेको भूभाग पनि गुमाउनु प¥यो भनेर भीमसेनको आलोचना गर्नेहरु पनि छन् भने लडाईंमा जितेको भू–भाग फिर्ता गरेर भएपनि नेपालको मूल थलो र सार्वभौमिकता जोगाएको भनेर उनको प्रशंसा गर्नेहरु पनि छन् । जे भए पनि, जमिनको भौतिक क्षति ब्यहोर्नु परेपनि सुगौली सन्धिका कारण नै नेपालले एक सार्वभौम स्वाधीन राष्ट्रका रूपमा विश्व समक्ष मान्यता पाएको तथ्यलाई भने नकार्न सकिँदैन । त्यही मान्यताका आधारमापछि जङ्गबहादुर र चन्द्रशम्सेर युरोपको ऐतिहासिक राजकीय भ्रमण गर्न सफल भएका थिए भने काठमाडौँमा ब्रिटिश आवासीय राजदूत रहने व्यवस्था भयो ।
अरुका दृष्टिमा भीमसेन
विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता महान दार्शनिक कार्ल माक्र्सले “एसियामा अङ्ग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र भीमसेन थापा थिए” भनेका थिए भने उनकै आशयलाई पछ्याउँदै नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले “भीमसेन थापा नेपालका मात्र नभई एसियाकै महान नेता हुन्” भन्नुभएको थियो । धेरै वर्षअघि प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले “हामी सबै बजिरमध्ये ठूला बुद्धिमान बजिर भीमसेन थापा हुन्” भन्न हिच्किचाएनन् भने उनीभन्दा अझ एक कदम अघि बढेर अर्का प्रधानमन्त्री चन्द्रशम्शेर जबराले त “एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिंडी सक्थ्यो” भनेर भीमसेन थापाको महत्व स्पष्ट पारेका थिए । (स्रोतः मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य, लेखक– ज्ञानु ढुङ्गेल) ।
अवसान
अरु कतिपय देशका इतिहासजस्तै नेपालको इतिहास पनि रगतले लत्पतिएको छ । पृथ्वीनारायणजस्ता सुयोग्य राजाका कारण देशको निर्माण भयो भने सुरेन्द्र, रणबहादुर, राजेन्द्रजस्ता अयोग्य राजाहरुका कारण अनावश्यक हत्याहिंसा र दरबारिया षडयन्त्र चरम अवस्थामा पुगेको पाइन्छ । राजा रणबहादुर आफ्नै भाइ शेरबहादुरद्वारा सेरिए भने राजा राजेन्द्रको कमजोरीका कारण भीमसेन थापाको अमानवीय अन्त्य र कर्मठ देशभक्त माथवरसिंह थापासमेतको हत्या गराइयो ।
विसं १८९४ साउनमा नावालक अघिराजकुमार देवेन्द्रको रहश्यमय मृत्युभयो । भीमसेन थापाले बिष खुवाई उनको हत्या गराएको भन्ने निराधार आरोप लगाई थापालाई थुनामा राखियो । छानबिनबाट उनी निर्दोष पाइएकाले त्यो विष मुद्धामा उनले दुई पटक सफाइ पाइसकेका थिए । तर दरबारिया षडयन्त्रको घेरामा पारेर उनीमाथि तेस्रोपटक पनि सोही मुद्धा लगाई १८९६ सालमा उनलाई आत्महत्या गर्न जसरी बाध्य पारियो । त्यो सम्झदा नेपाल साच्चँकै सतीको सराप परेको देश हो कि भनेर सोच्न बाध्य तुल्याउँछ । संसारका कुनै पनि व्यक्ति कमीकमजोरीबाट पूर्णतया मुक्त हुँदैनन्, चाहे ती महात्मा गान्धी हुन् वा माओत्से तुङ । निरन्तर तीन दशक शासनभार सम्हाल्दा उनीबाट जानेर वा नजानेर केही पनि कमीकमजोरी भएनन् होला भन्न सकिन्न । तर समग्रमा विश्लेषण गर्दा उनी राष्ट्रप्रति इमान्दार एक सच्चा सपुत थिए । त्यसैले आजको दिन उनलाई सम्झनु राष्ट्रिय विभूतिप्रति वर्तमान पुस्ताको परम कर्तव्य हो ।
_श्रीरामसिंह बस्नेत (लेखक राससका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार हुनुहुन्छ) 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..