11/21/2025, 11:54:57
शुक्रबार, मङि्सर ०५, २०८२

रवि र छविको पेसी स्थगित


बुटवल, मङ्सिर ५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबारका लागि तोकिएको पेसी स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा तोकिएको पेसी रविका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो ।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गर्नुभएको थियो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रविका कानुन व्यवसायीका तर्फबाट बिहीबारको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको जानकारी दिनुभयो ।

यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल मुद्दाको मिसिल मगाउने आदेश दिएको थियो । मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेसी तोकिएको थियो । यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो ।

त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो । बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले निवेदन दिएकोमा उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । त्यसअघि उच्च अदालत तुलसीपुर इजलासले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । रवि पक्षका कानुन व्यवसायीले मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले बुटवलको पेसी स्थगित गर्न निवेदन दिएको जनाएका छन् ।