04/03/2025, 02:24:01

भारत–चिलीबीच डिजिटल प्रविधिमा सहकार्य हुने


नयाँ दिल्ली, १९ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार चिलीका राष्ट्रपति गेब्रियल बोरिक फोन्तसँग हैदराबाद हाउसमा भेटवार्ता गर्नुभएको छ । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आतङ्कवाद र सङ्गठित अपराधको सामना गर्न दुवै देशले सहकार्यलाई अझ प्रगाढ बनाउने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “हामी रक्षा उद्योग निर्माण तथा आपूर्ति शृङ्खला एक–अर्काका आवश्यकताअनुसार अघि बढाउने छौँ । सङ्गठित अपराध, लागूऔषध तस्करी र आतङ्कवादविरुद्ध दुई देशका निकायहरूबीच सहकार्य बढाउने छौँ ।

उहाँले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद (युएनएससी) र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सुधार आवश्यक रहेकोमा पनि जोड दिनुभयो । “वैश्विक चुनौतीहरूको सामना गर्न युएनएससी तथा अन्य संस्थाहरूमा सुधार आवश्यक छ । हामी मिलेर विश्व शान्ति र स्थायित्वमा योगदान दिन्छौँ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोदीले भारत र चिली भौगोलिक रूपमा टाढा भए पनि दुवै देश प्रकृतिद्वारा एकअर्कासँग जोडिएको बताउनुभयो । “भारत र चिली फरक महाद्वीपमा भए पनि हिमालय र एन्डीज पर्वतहरूले हाम्रो सभ्यता निर्माण गरेका छन् । भारतीय महासागरको छालहरू जस्तै प्रशान्त महासागरको छालहरू चिलीको किनारामा उस्तै तरङ्गित छन्,” उहाँले भन्नुभयो ।

उहाँले चिलीमा भारतीय चलचित्र र संस्कृतिप्रति बढ्दो रुचि सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण सङ्केत भएको बताउनुभयो । “भारत र चिली प्रकृतिले मात्र होइन, संस्कृतिले पनि जोडिएका छन् । भारतीय चलचित्र र शास्त्रीय नृत्यप्रति चिलीका जनताको चासो हाम्रो सांस्कृतिक सम्बन्धको प्रमाण हो । आज सम्पन्न सांस्कृतिक आदानप्रदान कार्यक्रमको सम्झौताले यस सम्बन्धलाई थप बलियो बनाउनेछ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई अझ सहज बनाउन भिसा प्रक्रिया सरल पार्ने र विद्यार्थी आदानप्रदान कार्यक्रम विस्तार गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । “हामी दुई देशबीचको भिसा प्रक्रिया अझ सरल बनाउनेछौँ । साथै, भारत र चिलीबीच विद्यार्थी आदानप्रदान कार्यक्रमलाई प्रवद्र्धन गर्न निरन्तर प्रयास गर्नेछौँ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ