04/02/2025, 00:10:44

कसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ : माओवादी अध्यक्ष प्रचण्ड


वीरगञ्ज (पर्सा), ८ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतमा भन्दा अहिले मुस्लिम समुदायको आत्मसम्मान र पहिचान बढेको बताउनुभएको छ । अध्यक्ष दाहालले आज वीरगञ्जको वडा नम्बर १४ स्थित मुस्लिम समुदायका प्रतिनिधिहरूसँग चियापान कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिँदै मुस्लिम समुदायमाथिको व्यवहारमा अझै पनि विभेद कायमै रहेको बताउनुभयो ।

अझै पनि हामीले मुस्लिम समुदायको आवाज उठाउनुपर्ने छ भनेर मैले बारम्बार अपिल पनि गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “अहिले मुस्लिम समुदायको रमजाम पर्व चलिरहेको छ, त्यसको शुभकामना पनि दिँदै आइरहेको छु ।” अध्यक्ष प्रचण्डले सबै जातजाति, भाषाभाषी र धर्म समुदायलाई समान व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।

तपाईँहरूको समुदायप्रति हाम्रो विशेष जिम्मेवारीबोध पनि हुन्छ । देशमा बस्ने सबै जातजाति–भाषाभाषी, धर्म समुदायलाई समान व्यवहार गर्नुपर्ने हुन्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “कसैमाथि काखापाखा गर्नु हुँदैन भनेर नै हामीले लडाइँ गरेका हौँ । अहिले पनि त्यो समन्वय गर्ने काम पनि गर्दै आइरहेका छौँ ।

अध्यक्ष प्रचण्डले माओवादीले अघि सारेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पनि समन्वय र सामाजिक सद्भाव अभिवृद्धिको अभियान रहेको स्पष्ट पार्नुभयो । “यो अभियान त्यसमा देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति अगाडि बढ्ने अभियान पनि हो”, उहाँले भन्नुभयो ।

नेकपा (माओवादी) केन्द्रले हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान अन्तर्गत भोलि शुक्रबार पर्सामा विभिन्न कार्यक्रम गर्दैछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित माओवादीका शीर्षनेताको उपस्थितिमा पर्सामा आज कार्यक्रम भइसकेको छ भने शुक्रबार पर्सामा विभिन्न कार्यक्रम गरेर जागरण अभियान अघि बढाउने भएका छन् ।

नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतोले माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान केही समयअघि विशेष कारणले रोकिएकामा बुधबारदेखि फेरि सञ्चालनमा आएको जानकारी दिनुभयो । “जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्षसहितका शीर्षनेता आज पर्सामा आइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “छोटो समयमा पनि हामीले आवश्यक तयारी गरिरहेका छौँ । कार्यक्रमलाई भव्य र सभ्य बनाउने हाम्रो योजना छ ।

माओवादी केन्द्र पर्सा अभियान प्रचारप्रसार समितिका अनुसार आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाल पर्सा आउनुभएको हो । आज नृसिंह माध्यमिक विद्यालय लक्ष्मणवा–१५ मा स्थानीय नेता, कार्यकर्ता, विद्यार्थी र स्थानीय समुदायसँग भेटघाटको कार्यक्रम राखिएको थियो । त्यस्तै शुक्रबार बिहान साढे पाँच बजे सिप्रदीगेट बहुअरी १४देखि घण्टाघर, मकालुचोक, आर्दशनगरचोक, घडिअर्वा, माईस्थानचोकमा ‘मर्निङवाक’को कार्यक्रम तय गरिएको बताइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ