टेक्सस (अमेरिका), ७ चैतः भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा विकास र समृद्धिको बाधक राजनैतिक अस्थिरता भएको बताउनुभएको छ ।
अमेरिका भ्रमणमा रहेका मन्त्री दाहालले आज टेक्ससको ड्यालसमा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रममा उहाँले यस्तै अस्थिरता रोक्न हाल नेपालका प्रमुख राजनीतिक शक्तिबीचको सत्ता सहकार्य भएको र त्यसले सरकार ढाल्ने खेल बन्द भई विकास निर्माणका कामहरू सञ्चालन भइरहेको बताउनुभयो । “हामी निर्माणको चरणमा छौँ । योजनाबद्ध रूपमा काम भइरहेका छन् । विकास निर्माणका ठूला योजनामा प्रगति देखिएका छन् । नेपालमा केही पनि भएको छैन भनेर फैलाइएको निराशापूर्ण हल्लाको पछि नलाग्न मेरो सबैलाई आग्रह छ”, मन्त्री दाहालले भन्नुभयो ।
नेपाली समाज टेक्ससद्वारा मन्त्री दाहालको सम्मानमा आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाल सरकार गैरआवासीय नेपालीका नागरिकतालगायत समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विभिन्न कारणले गैरआवासीय नेपालीका पक्षमा निर्माण गर्न बाँकी रहेका कानुन चाँडै बनाएर गैरआवासीय नेपालीका सवाल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री दाहालले नेपालमा पछिल्लो समय राजावादीहरूको सक्रियतालाई नाटकको संज्ञा दिनुभयो । “नेपालमा बेलाबेलामा नाटक हुने गर्दछन् । राजतन्त्र नेपाली जनताले भोगिसकेकाले फेरि फर्किने सम्भावना छैन”, उहाँको भनाइ थियो ।
मन्त्री दाहालले टेक्ससको ड्यालसमा स्थापना हुन लागेको नेपाल सरकारको कन्सुलेट अफिस सञ्चालनका लागि अमेरिकी सरकारबाट स्वीकृति आउन बाँकी रहेकाले केही ढिला भएकाले नेपाल फर्केपछि चाँडो प्रक्रिया अगाडि बढाउन पहल गरिने बताउनुभयो । मन्त्री दाहालले प्रवासी नेपाली मञ्च टेक्ससका पदाधिकारी सदस्यहरुसँग पनि अन्तरक्रिया गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










