काठमाडौँ, ४ चैत : लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवनदर्शन जोडिएको छ । पृथ्वीको सृष्टिको कथादेखि मुन्धुम सुरु हुन्छ । मानिसको सृष्टि र सभ्यता, ईश्वरीय शक्ति, सिकार युग, खेतीपाती, महिला र पुरुषबीचको सम्बन्ध, घर निर्माण, पशुपालन, नीतिनियम, मानिसको प्रकृतिसँगको सम्बन्ध आदिको वर्णनलाई लिम्बूका पुरोहितहरू साम्बा, येवा, येमा तथा फेदाङ्माहरूले काव्यात्मक शैलीमा गाउने वा फलाक्ने धर्मशास्त्र नै मुन्धुम हो ।
लिम्बूहरूको सांस्कृतिक तथा आध्यात्मिक जीवनसँग सिधै सम्बन्ध राख्ने मुन्धुम गेयात्मक शैलीको हुन्छ । श्रुतिशास्त्रमा आधारित भएकाले यसलाई ‘थुतुरी वेद’ पनि भनिन्छ । मुन्धुमलाई पारिभाषिक रूपमा अथ्र्याउने श्रेय मुन्धुमविद् वैरागी काइँलालाई जान्छ । काइँलाले उल्लेख गरेअनुसार ‘मुन्’ र ‘थुम्’ शब्द जोडिएर मुन्धम शब्दको निर्माण भएको हो । लिम्बू भाषामा मुन् (मुम्–मा)को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने लाग्छ । यस्तै थुम् (थुम्–मा)को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरूको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठिन किसिमबाट अगाडि बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ । पृथ्वीको सृष्टिकालदेखि नै लिम्बूहरूको जीवनशैली गतिशील, बलियो तथा कठिन ढङ्गबाट बढिरहेको सन्दर्भलाई विविध कोणबाट गेयात्मक रूपमा प्रस्तुत गरिने धर्मशास्त्र नै मुन्धुम हो ।
मौखिक रूपमा प्रस्तुत गरिने भएकाले तथा मुन्धुम फलाक्ने वा गाउने व्यक्तिहरू अभाव हुँदै जाने भएकाले मुन्धुम पनि लोप भई जाने खतरा पनि उत्तिकै छ । मुन्धुमलाई जोगाउन यसको लिप्यान्तर अत्यन्तै जरुरी देखिएपछि मुन्धुमप्रति चिन्तित र सचेत व्यक्तिहरूले मुन्धुमको लिप्यान्तर र प्रकाशनमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । पछिल्लोपटक युवाहरू पूर्णप्रसाद तबेबुङ, खड्कबहादुर इधिङ्गो, साम्बा बुद्धिराज मादेन, फेदाङ्मा मेघराज इधिङ्गो र युमा भक्तिदेवी फुरुम्बो आदिबाट सङ्कलन गरी संस्कृतिविद् डिबी आङ्बुङले सम्पादन, अनुवाद र लिप्यान्तर गरी निकै ठूलो मुन्धुमको ठेली ‘याक्थुङ साम्जिक मुन्धुम’को प्रकाशन भएको छ । यो कृतिलाई मुन्धुम संरक्षणको क्षेत्रमा निकै ठूलो उपलब्धिका रुपमा लिइएको छ ।
मुन्धुम लिप्यान्तरको क्रम
सत्रौँ शताब्दीमा सक्रिय विद्वान् सिरिजङ्गाले आफैँ लिपिको आविस्कार गरी मुन्धुम संरक्षणको सुरुआत गरेका थिए । उहाँले आविष्कार गरेको लिपिलाई ‘सिरिजङ्गा लिपी’ भनिन्छ । पछि नेपाल र सिक्किमका गाउँहरूबाट सिरिजङ्गा र उहाँका चेलाहरूले लेखेको लेखोटहरू सङ्कलन गरेर ब्राइन हज्सनले बेलायत पुर्याएका थिए । हज्सनले त्यसबेला जोभानसिंह फागो, गुनमान खजुम, च्याङ्ग्रेसिंह आदिबाट मुन्धुम लेख्न लगाई ती पाण्डुलिपिहरू बेलायत पुर्याएका थिए । तिनै पाण्डुलिपिका छायाँ प्रतिहरू लिएर २०१२ सालमा लन्डन युिनभर्सिटीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आरके स्प्रिग नेपाल आएका थिए ।
लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृित, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखत पाण्डुलिपिको छायाँप्रति लिएर नेपाल आउँदा उहाँ पाँचथर, सारतापस्थित डबल सुब्बा खड्गबहादुर नेम्वाङको घरमा महिना दिनजति श्रीमतीसहित बस्नुभएको थियो । पछि यी पाण्डुलिपिहरू अध्ययन गर्ने अवसर पाएपछि इमानसिंह चेम्जोङले २०१८ सालमा किरात मुन्धुम (किरातको वेद) प्रकाशनमा ल्याउनुभयो । यो नै लिम्बूहरूको मुन्धुमको लिप्यान्तरित पहिलो प्रकाशन हो । यहीँ पुस्तकमा आँखा लागेपछि आफू लिम्बूहरूको मुन्धुमप्रति आकर्षित भएको संस्मरण मुन्धुमविद् वैरागी काइँलाले ठाउँठाउँमा उल्लेख गरेको पढ्न पाइन्छ ।
पछि काइँला आफैँ हज्जन पेपर अध्ययनका लागि लण्डन पुग्नुभयो । त्यहाँ सुरक्षित कागजहरूमध्ये लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखिएका सामग्री अध्ययनका लागि आफ्नो परियोजनामा संस्कृतिविद् डा रमेश ढुङ्गेलले उहाँलाई लण्डन पुर्याउनुभएको थियो । उहाँ सन् २००४ जुलाई र अगस्टका बीच पाँच साता लण्डनमा हज्सन पेपर अध्ययन गरी फर्किनुभयो । हज्सन पेपर अध्ययन गर्नुभन्दा धेरैअघिदेखि नै काइँलाले प्रशस्तै मुन्धुम सङ्कलन र प्रकाशन गर्नुभएको थियो ।
मुन्धुम सङ्कलनको रोचक घटना
मुन्धुमप्रति काइँलामा जागरुकता आएपछि उहाँ मुन्धुम सङ्कलनको अवसर खोज्दै हुनुहुन्थ्यो । उहाँले येबा दलबीर नायेम फागुबाट पहिलोपल्ट मुन्धुम सङ्कलन गर्ने अवसर पाउनुभयो । मुन्धुमको अध्ययनको सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा २०३४ मङ्सिर ८ देखि ११ गतेसम्म तङ्सिङ अनुष्ठानको आयोजना गर्नुभयोे । विसं १९६० भदौ २९ गते जन्मेका येवा दलवीरको जन्मस्थल मैवाखोला इलाका थादिङ गाउँ चैनपुर हो । पछि उहाँ इलाम जिल्लाको नाम्सेलिङ गाउँमा बसाइँ सर्नुभयो । उहाँका सहयोगी रामप्रसाद याक्खा हुनुहुन्थ्यो । येवा दलवीरले गाएको मुन्धुम सो अवसरमा टेप गरेर पछिबाट आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उहाँसँग काइँलाले पटकपटक भेट र छलफल गर्ने काम पनि गरेको उहाँले आफ्ना पुस्तकहरूमा मन्तव्यका क्रममा व्यक्त गर्नुभएको छ ।
येवा दलवीरबाहेक अन्य जानकार येवाहरूको खोजी गर्दा याङ्रोक निवासी, पछि झापाको खुदुनाबारीमा बस्ने वीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो उहाँको । यिनै वीरबहादुर नै पछिबाट वैरागीका माइला दाजु डिल्लीविक्रम नेम्वाङको घर झापाको खुदुनाबारीमा २०४९ माघ १६ देखि १९ गतेसम्म तीन राते तङसिङको आयोजना गर्दा मुख्य येवा हुनुहुन्थ्यो । येवा वीरबहादुरसँग येवा दलवीरले गाएको मुन्धुमको पाण्डुलिपि र उनी आफैँले गाएको मुन्धुमको पाण्डुलिपिमाथि व्यापक छलफल भई तुुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने कार्य वैरागी काइँलाले गर्नुभयोे । यसरी मुन्धुमविद् वैरागी काइँला मुन्धुमको साधनामा लागेको पाइन्छ ।
काइँलाको दलवीर नायम फागुसँगको भेट भएको घटना पनि रोचक छ । २०३३ सालतिर वैरागी झापाको खुदुनाबारीबाट पाँचथरको सारताप आफ्नो गाउँ हिँड्नुभएको थियो । उहाँ बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा बास बस्न पुग्नुभएको थियो । थाकेर सुतेको तर अचानक रातको १ः०० बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उहाँ ब्युँझिनुभयो । त्यसपछि केही तलको मामाको घरमा झर्नुभयो, जहाँ पूजा लगाइएको रहेछ, एक राते तङसिङ । साह्रै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येवा । उहाँले बिहानसम्म बसेर येवाले गाएको मुन्धुमलाई टेप रेकर्ड गर्नुभयो ।
‘साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा’ (२०४९)को प्रकाशनबाट लिम्बू मुन्धुमसम्बन्धी पुस्तक प्रकाशन सुरु गरेका उनले हालसम्म मुन्धुमसम्बन्धी मात्रै ११ वटा कृति पाठकसमक्ष समर्पित गरिसकेका छन् । मुन्धुममा काइँलाले गरेको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई २०७५ सालमा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार समर्पण गरेको थियो ।
मुन्धुम लिप्यान्तरको महत्व
मुन्धुम संरक्षणको पहल र यसको दार्शनिक व्याख्याका लागि डा चैतन्य सुब्बाको योगदान पनि अविस्मरणीय रहेको छ । उहाँले आफ्नै घरमा अनुष्ठान राखेर मुन्धुम रेकर्ड र उत्पादन गराउनुभएको थियो । उहाँ मुन्धुमको भरपर्दो दार्शनिक व्याख्याता हुनुहुन्थ्यो । मुन्धुम दर्शन निर्माण गरिरहेकै बेला तीन वर्षअघि उहाँको देहान्त हुनपुग्यो ।
मुन्धुमको लिप्यान्तर र संरक्षण क्षेत्रमा योगदान दिनेहरूमा साधुसन्त स्वभावका लालसोर सेन्दाङ पनि एक हुनुहुन्थ्यो । मुन्धुम संरक्षणका लागिरहेको बेला राणाकालमा ताप्लेजुङबाट निर्वासित भई दार्जिलिङ र सिक्किमका विभिन्न गाउँहरूमा फिरन्ता भई मुन्धुमको प्रचार गरेको इतिहासमा पढ्न पाइन्छ ।
यस्तै रणध्वज श्रेङ चोङवाङ, लक्ष्मण मेन्याङ्बो, हर्कराज कुरुम्बाङ, धनराज थलङ, अर्जुनबाबु मावुहाङ आदिलाई मुन्धुमको लिप्यान्तर, संरक्षण र व्याख्याका लागि महत्त्वपूर्ण व्यक्तित्वका रूपमा लिइने गरिएको छ । सामाजिक, नैतिक र धार्मिक धारणाको विकासको चरम अभिव्यक्ति मुन्धुममा पाइन्छ । अनेक आख्यानहरूद्वारा धार्मिक, नैतिक र सामाजिक अवधारणाका लागि सनातनी हिन्दूहरूको लागि अठार पुराणको महत्वजस्तै लिम्बूहरूका लागि मुन्धुमको महत्व छ ।
मुन्धुम येवा, येमा, साम्बा तथा फेदाङ्माहरूले मुखले गाउने वा फलाक्ने विधा भएकाले यस विषयमा जानकार वा विज्ञ पुस्ताको अन्त्यसँग यो विधा पनि लोप भएर जाने खतरा उत्तिकै छ । त्यसैले यसको संरक्षणका लागि लिप्यान्तर र प्रकाशन अति जरुरी हुन पुग्यो । एउटा सिङ्गो समुदायको सभ्यता, त्यो समुदायको आध्यात्मिक तथा सांस्कृतिक मान्यता तथा जीवन दर्शनको आधार रहेकाले मुन्धुम अत्यन्तै महत्त्वपूर्ण अभौतिक सम्पत्ति भएकामा दुईमत छैन ।
मुन्धुमको लिप्यान्तरको जति महत्व छ, यसको दार्शनिक व्याख्याको पनि उत्तिकै आवश्यकता छ । मुन्धुम लिप्यान्तर कार्यमा उल्लेख्य प्रगति भइरहेको पनि पाइन्छ । तर यसको दार्शनिक व्याख्या भने उल्लेख्य रुपमा हुन सकिरहेको छैन । विज्ञजनबाट मुन्धुमको दार्शनिक व्याख्या पनि उत्तिकै अपेक्षित हुन पुगेको छ ।
– राजकुमार दिक्पाल