भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ हुनुहुन्छ : पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।
भाट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहनुभएको छ जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् ।
अड्तीस वर्षीया भाटले धेरै वर्षसम्म पुरुष साथीहरूको व्यङ्ग्य सहनुभएको थियो । तिनीहरूले उहाँसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त हुनुहन्छ कि हुनुहुन्न भन्ने प्रश्न गर्दथे ।
तर उद्योगमा एक दशकपछि उहाँ बेङ्गलुरुको सबैभन्दा लोकप्रिय पबहरू मध्ये एकमा हेड ब्रुअर बन्न पुग्नुभएको छ र सहरको धनी युवा प्रविधि कामदारहरूको सेवा गर्नुभएको छ ।
“एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ… रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म”, भाटले भन्नुभयो, “हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलङ्क थियो… हामी ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।”
सरकारी तथ्याङ्कअनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेङ्गलुरु लामो समयदेखि प्रसिद्ध छ ।
यसको प्रख्यात प्रविधि उद्योगले प्रायः सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ ।
यसले बेङ्गलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेङ्गलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् ।
आधिकारिक तथ्याङ्कअनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो ।
तुलनात्मक रूपमा तिनीहरूले बेङ्गलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरूको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकांक्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो । तीमध्ये ठूलो सङ्ख्यामा कामपछि बारहरूमा साथीहरूसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ ।
– रोल मोडेल –
तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि हुनुहुन्छ । उहाँ औषधि अनुसन्धानकर्ताका रूपमा काम गर्न बेङ्गलुरु जानुभयो तर चाँडै आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा आकर्षित भएको पाउनुभयो ।
सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने उहाँको बाटोले उहाँलाई आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरूमाथि आफूलाई दाबी गर्न बाध्य तुल्यायो ।
“त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर तपाईंको विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिश गर्दै… तपाईंले त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।
चार वर्षअघि उहाँले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गर्नुभयो । यसले सहरका ब्रुपबहरूमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ ।
“म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु”, पाइरेसले भन्नुभयो, “उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरूलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।”
– कटु पुरुष, कटु बियर –
भाट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् ।
पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ ।
त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानूनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरूको उल्लेख गरिएको थियो ।
“यो इतिहासलाई ध्यानमा राख्दै जब मानिसहरूले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो”, भारतको बियर उद्योगको बारेमा पोडकास्ट होस्ट गिरिजा चट्टीले भन्नुभयो ।
भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी संयम र उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजहरू मध्ये एक हुनुहुन्थ्यो ।
भारतको सन् १९४९ को संविधानले सरकारलाई ‘औषधीय उद्देश्यहरू’ बाहेक मदिरापानमा रोक लगाउन आदेश दिन्छ, केही राज्यमा लागू गरिएको निषेधाज्ञा बाहेक यो खण्ड धेरैजसो बेवास्ता गरिन्छ ।
मदिरापान भारतीयहरूको सानो अल्पसङ्ख्यकमा पनि लिङ्गहरू बीचको विभाजन स्पष्ट छ । सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरूले ग्रहण गर्छन् ।
बारहरूमा जाने थोरै महिलाहरूको बीचमा त्यो विभाजन र त्यसको सामाजिक अपेक्षाहरू अझै पनि सजिलै देख्न सकिन्छ ।
चट्टीले वेटरहरूले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उद्धृत गर्नुहुन्छ ।
“यदि महिलाहरूले कटु पुरुषहरूलाई सम्हाल्न सक्छन् भने उनीहरू कटु बियरलाई राम्रोसँग सम्हाल्न सक्छन्”, उहाँँले हाँसो गर्दै भन्नुभयो ।