काठमाडौँ, ६ फागुनः सामन्ती व्यवस्थाको मूल जरा २००७ सालको क्रान्तिले छिनाल्यो । जहानियाँ राणाशासनविरुद्धको क्रान्तिको मूल–मर्म प्रजातान्त्रिक शासन व्यवस्था र राष्ट्रिय स्वाधीनताको मुद्दा थियो । नेपाली जनताको त्यो उद्देश्य पूर्णरुपमा कार्यान्वयनमा ल्याउने प्रयास अहिलेसम्म पनि निरन्तर छ । विसं १९९७ बाटै सुरु भएको विद्रोहलाई व्यवस्थित गर्न तथा आमजनताका जनजीवनमा समृद्धि र परिवर्तन ल्याउने कार्यभार अझै बाँकी छ । हाम्रा अग्रजले भनेअनुसार राणाकालमा अन्याय, अत्याचार र सामन्ती थिचोमिचोको संस्कार थियो । त्यतिबेला सबै नेपाली जनता र मुक्ति सेनाले क्रान्तिका माध्यमद्वारा निरङ्कुश शासनलाई अन्त्य गरिदिए ।
यस घडीमा प्रजातन्त्रको पक्षमा जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति सम्मान र आन्दोलनको नेतृत्व गर्ने सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु । वास्तवमा जनताले हतियार नउठाई क्रान्ति वा आन्दोलनलाई एउटा उचाइमा पु-याउन कठिन हुँदोरहेछ भन्ने कुरा २०५२ सालको फागुनमा सुरु गरिएको जनयुद्धले समेत स्पष्ट गरेको छ । प्रजातन्त्र, लोकतन्त्रको यात्रा गर्दै अहिले हामी गणतन्त्रसम्म आइपुगेका छौँ । सामान्ती शोषणका मूल रुपलाई अन्त्य गर्ने सिलसिलामा नेपालको संविधानमा समानुपातिक एवं समावेशीको मर्म र भावना व्यक्त गरिएको छ । यद्यपि, अझै पनि समाजमा सामन्ती शोषणका अवशेष बाँकी छन् । २००७ सालको परिवर्तनलाई सम्झँदा छुवाछूतलगायतका विभेद अन्त्य गर्न अभिप्रेरणा समेत दिएको छ ।
जहाँसम्म राससको विषय छ, राससले कार्यक्रम नै बनाएर राजनीतिक दलसँग नियमित अन्तरक्रिया गर्नुपर्छ । राससलाई सातै प्रदेश सरकार र सात सय ५३ वटै पालिका सरकारसँग जोड्ने कार्यक्रम बनाओस् । तथ्यमा आधारित भएर बोल्नुपर्ने हुँदा हामीले उठाएको ‘एजेन्डा’ के–कति रुपमा कार्यान्वयन भए त्यसको राससलगायतका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरोस् । राससले आफना् पुराना महत्त्वपूर्ण दस्तावेजको ‘अर्काइभ’ गर्ने विषयलाई प्राथमिकतामा राखोस् । विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) निर्माणमा ध्यान पु-याओस् । सदनमा सरकारले आफूले राम्रो काम गरिरहेको दाबी र प्रतिपक्षले जनताका आवाज उठाइरहेको भनिरहेका हुन्छन । सदनमा उठ्ने त्यस्ता राजनीतिक विषयको उठान राससले कसरी गर्छ भन्ने महत्त्वपूर्ण पक्ष हो । सरकार र दल विशेष नभई राससले राज्य भएर प्रस्तुत हुनुपर्छ । संस्थाका जनशक्तिलाई तालिम/प्रशिक्षणमार्फत काबिल तुल्याउने काम गरोस् । त्यसका लागि आवश्यक साधन–स्रोत उपलब्ध गराउने विषयमा हामी आवाज उठाउँछौँ ।
(राससको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर–संवादमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेबाट व्यक्त विचार)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









