काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद्लाई अपमान गर्ने र छल्ने बाटोमा लागेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अधिवेशन बोलाउने बेलामा अध्यादेश ल्याइएको बताएका हुन् ।
विपक्षी दलहरूले सरकारसँग संसद् बैठक बोलाउन आग्रह गरे पनि बेवास्ता गरिएको उनले बताए । ‘सरकार नै संसद्लाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो, तर बोलाइएन । सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ,’ प्रचण्डले भने ।
पछिल्लो ३५ वर्षमा कांग्रेस र एमालेले नै सरकार चलाए पनि संसद् बैठकलाई ६ दिन नपर्खी अध्यादेश ल्याइएको उनले बताए । ‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ?,’ प्रचण्डले भने ।
संसद्मा दुई तिहाइको बहुमत छ भनेर घमण्ड देखाए पनि रातारात अध्यादेश ल्याइएको उनको भनाइ छ । ‘रातारात अध्यादेशको चोरबाटोले भन्छ, तपाईहरुको नियत सही छैन । अरु बेला संसद्मा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरूबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो,’ उनले भने ।
अध्यक्ष दाहालले विकासका लागि अध्यादेशहरू ल्याइएको भए संसदीय समितिमा रहेका विधेयकमा खुला छलफल गर्न सरकार किन डरायो भनेर प्रश्न गरे । ‘संसद्मा विचाराधीन विधेयक फिर्तासमेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसदले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ,’ अध्यक्ष दाहालले भने ।
निश्चित स्वार्थ समूहरूलाो पोस्न अध्यादेश ल्याइएको पनि अध्यक्ष दाहालले बताए । ‘देश र जनताका लागि सोचेको भए तपाईहरु संसदसँग डराउनुहुने थिएन । स्वार्थ समूहहरूलाई पोस्नुपर्ने भएकैले तपाईंहरूले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?,’ अध्यक्ष प्रचण्डलेभने ।