काठमाडौँ, १८ माघः सामसङले ग्यालेक्सी एस २५ सार्वजनिक गरेको छ । योसँगै सामसङ नेपालले बजारमा प्रि–अर्डर सुरु भएको जनाएको छ । कम्पनीले बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरी सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा, सामसङ ग्यालेक्सी एस २५ प्लस र ग्यालेक्सी एस २५ को प्रि–अर्डरको घोषणा गरेको हो ।
सामसङ ग्यालेक्सी एस २५ सिरिज कम्पनीको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम रहेको जनाइएको छ । यो एआई एजेन्ट, मल्टिमोडल क्षमतालाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य कम्पनीको रहेको बताइएको छ ।
यो सिरिजमा व्यक्तिगत डेटा इन्जिन तथा नोक्स भाल्टले व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्ने विशेषता छ । साथै यसमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ५० एमपी अल्ट्रावाइड क्यामेरा र १०–बिट एचडीआर रेकर्डिङ गर्ने विशेषता छ । बजारमा फागुन १ गतेदेखि उपलब्ध हुनेछ ।
ग्राहकले सामसङ ग्यालेक्सी एसका सिरिज प्रि–अर्डर गरी खरिद गर्ने ग्राहकले कम्पनीको ग्यालेक्सी बड्सलगायत अफर मूल्यमा प्राप्त गर्न सक्नेछन् । बजारमा ग्यालेक्सी एस २५ अल्ट्राको ५१२ जीबी रोमको मूल्य १ लाख ९९ हजार ९९९ र २५६ जीबी रोमको १ लाख ८४ हजार ९९९ रुपैयाँ रहेको छ ।
यसैगरी ग्यालेक्सी एस २५ प्लसको मूल्य १ लाख ४१ हजार ९९९ रुपैयाँ छ । ग्यालेक्सी एस २५ को २५६ जीबी रोम १ लाख १४ हजार ९९९ र १२८ जीबी रोम भएको १ लाख ४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ । यी सबै स्मार्टफोन १२ जीबी र्याममा उपलब्ध छन् ।