काठमाडौँ, ३ माघ : दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौं महानगरपालिकालाई ३२ वर्षदेखिको सम्पत्ति कर बुझाएको छ । महानगरको अनुसार डीडीसीले आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्यांकन गरेर कर दाखिला गरेको हो ।
डीडीसीले २०८१ पुस २८ गतेको मूल्यांकनबमोजिम १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर बुझाएको महानगरले जनाएको छ । डीडीसीले माघ ३ गते महानगरको वडा २६ कार्यालय लैनचौरमा उक्त सम्पत्ति कर बुझाएको हो ।
डीडीसीसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले पत्राचार गरेको थियो । महानगरपालिकाले जारी गरेको राजस्व ऐन २०७५ तथा सालवसाली जारी हुने आर्थिक ऐनले सम्पति करको दररेट तथा संकलन प्रक्रियाको बारेमा व्यवस्था गर्ने गरेको छ । यसअनुसार नक्सापास भएको २ वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा/सम्पत्ति कर गणना हुने व्यवस्था छ ।