काठमाडौँ, २ माघः सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सरकारले ‘थ्रेसहोल्ड’ बढाउने गरी कानुन संशोधन गर्न लागेको र संसद् बन्द राखेर अध्यादेशमार्फत् कानुनहरू संशोधन गरिरहेकोमा विरोधमा रहेका विपक्षी दलहरू बुधबार बिहान एकै ठाउँमा जुटेका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलका नेताहरू सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने विषयमा एकजुट भएका छन् ।
पाण्डेका अनुसार बैठकमा संसद्मा रहेको आर्थिक उत्तरदायित्व सम्बन्धी विधेयकमाथि छलफल हुँदाहुँदै यही विधेयक अध्यादेश मार्फत ल्याउनु सरकार संसद्लाई कमजोर बनाउने खेलमा लागेको भन्दै छलफल भएको थियो । उनले भने, ‘यदि सरकारले संसद् बोलाएन भने संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भयो ।‘
बैठकमा सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।