04/16/2025, 04:44:20

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह


सिन्धुपाल्चोक, २९ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहज रूपमा यातायात सञ्चालनको अवस्था बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

आज उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएपछि यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई फोन सम्पर्क गरी यस विषयमा ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले काठमाडौँ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको बताउनुभयो ।

अध्यक्ष दाहाल भोलि माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने आठौँ पुरुष र सातौँ महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि यहाँस्थित सुकुटे आउनुभएको हो ।

यसैबीच सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापाले नेपाल भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र आफू नेतृत्वको सङ्घले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।

पहिलोपटक हुन लागेको यस प्रकारको राष्ट्रियस्तरको प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..