सोमबार, पुष ०८, २०८१

सरकार जलविद्युत् विकासमार्फत गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : ऊर्जामन्त्री खड्का


खाँदबारी (सङ्खुवासभा), ८ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचिएको बताउनुभएको छ ।

ऊर्जामन्त्री खड्काले विगतका वर्षमा वार्षिक रु १८ अर्बसम्मको बिजुली भारतबाट किन्दै आएकामा पछिल्लो पाँच महिनामा बिक्री गरिएको साढे नौ सय मेगावाट बिजुलीले व्यापार घाटा समानान्तर भएको दाबी गर्नुभयो ।

आज सदरमुकाम खाँदबारीमा आयोजित नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती तथा पार्टीको १०० दिने विशेष साङ्गठनिक अभियान कार्यक्रममा ऊर्जामन्त्री खड्काले देशमा गरिबीको रेखामुनि रहेका ८ देखि २० प्रतिशत जनताले हरेक आयोजनाबाट जलविद्युत्को शेयर पाउनुपर्ने बताउनुभयो । उहाँले विपन्नका लागि आयोजना वा सरकारले कम्तीमा दुई लाखको शेयर आयोजना धितो राखेर मालिक बनाउनुपर्ने र यसका लागि छलफल प्रारम्भ भएको बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभयो । ऊर्जा विकासमार्फत स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading