सोमबार, पुष ०८, २०८१

भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ


काठमाडौँ, ७ पुस : भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् ।

बालविवाहविरूद्धको अभियानको तेस्रो चरण डिसेम्बर २१ र २२ मा मात्र ४१६ जनालाई पक्राउ गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । बालविवाहको आरोपमा यो बर्ष अहिलेसम्म कूल पाँच हजार व्यक्ति पक्राउ परेका छन् ।

आसाम राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “हामी यस सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्नेछौं ।

आसामले बालविवाहविरुद्धको लडाइँ जारी राखेको छ”, उहाँले भन्नुभयो, “रातभर छापा मारिएको छ र पक्राउ परेकालाई आइतबार अदालतमा पेश गरिनेछ।

संयुक्त राष्ट्रसङ्घका अनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् तर यो शताब्दीमा बालविवाहको सङ्ख्यामा नाटकीय रुपमा कमी आएको छ । आसाम राज्यले सन् २०२३ को फेब्रुअरीमा सुरु भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतीका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिष्ट्रारसहित हजारौँलाई पक्राउ गरिसकेको छ । यो सँगै अहिले पक्राउ पर्नेको सङ्ख्या चार हजार भन्दा बढी पुगेको छ ।

मुख्यमन्त्री  शर्माले सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने अभियान चलाउनुभएको छ । भारतमा कानुनीरूपमा विवाहको लागि उमेर १८ बर्ष तोकिएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बच्चाहरु बालविवाहको बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको विवाह गर्छन् ।

बालविवाहको कारण भारतीय समाजमा विवाहित किशोरीहरूले खाना पकाउने र अन्य घरायसी धन्दाका लागि विद्यालय जान छोड्ने गरेका पाइन्छ । विवाहपछि सानै उमेरमा बच्चा जन्माउँदा उनीहरूले स्वास्थ्य समस्याहरू पनि भोग्नुपर्छ ।

सन् २०१७ को ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले कम उमेरकी किशोरीसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading