बागमती, २५ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतडा डेनियल म्यूलीले आज भेटवार्ता गर्नुभएको छ । भेटमा राजदूत म्यूलीले स्वीस सरकारबाट बागमती प्रदेशमा हाल सञ्चालनमा रहेका परियोजनाको साथसाथै नेपालमा संविधान कार्यान्वयनमा स्वीस सरकारले गरिरहेको परियोजना सहयोगको बारेमा जानकारी गराउनुभयो ।
बागमती प्रदेशमा हाल स्वीस सरकारको सहयोगमा छ वटा परियोजना कार्यान्वयनमा रहेको र थप दुई वटा परियोजना सुरूआतको प्रक्रियामा रहेको जानकारी दिँदै राजदूत म्यूलीले हाल बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यवसायिक सीपसम्वन्धी ऐन जारी गरी प्रादेशिक तह मै रोजगारी प्रवर्द्धनका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
बागमती प्रदेशमा स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रबासी परियोजना (सामी) कार्यान्वयनमा रहेको र सुरक्षित आप्रबासका लागि बागमती प्रदेश सरकारसमेतले उल्लेख्य बजेट विनियोजन गरी कार्यान्वयनमा गएकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।
स्वीस सरकारले मोटरेवल लोकल रोड एण्ड ब्रीज प्रोगामबाट सडक पुल निर्माणमा काम गरिरहेको जानकारी दिँदै राजदूत म्यूलीले प्रदेश सरकार प्रादेशिक सडक गुरूयोजना निर्माण गरेकाले आगामी दिनमा यसले प्रदेशमा सडक तथा पुल निर्माणका लागि नीतिगतरूपमा सरल भएको बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री लामाले स्वीस सरकारले गरिरहेको सहयोगका बारेमा आफू जानकार रहेको र नियमित सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारले स्वीस सरकारसँग मुलरूपमा प्रविधि हस्तान्तरण र पर्यटन विकासमा सहयोगको अपेक्षा रहेको बताउँदै उहाँले बागमती प्रदेशमा पर्यटन र जलविद्युत् उत्पादनको अथाहा सम्भावना रहेकाले यस क्षेत्रमा प्रविधि हस्तान्तरण र लगानीका लागि स्वीस सरकारले सहयोग गर्दा उल्लेख्य उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।
यसका साथै स्वीटजरल्याण्डको सङ्घीयताको मोडलबाट नेपालमा धेरै कुरा सिक्न सक्ने हुँदा त्यहाँका विकास मोडल नेपालका लागि सन्दर्भ स्रोत रहेको बताउँदै मुख्यमन्त्री लामाले प्रदेशमा लगानी मैत्री वातावरण निर्माणका लागि आफू निरन्तर लागि परेको र सबैको सहयोगबाट यस क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।