२९ कात्तिक, काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘पूर्णबहादुरको सारंगी’ हेरेपछि प्रतिक्रिया दिएका छन्। राईले बुधबार सीडीसी सिनेमाजमा गरिएको विशेष शोमा पहिलोपल्ट यो फिल्म हेरेका हुन्। ‘पूर्णबहादुरको सारंगी’मा विजय बरालको मुख्य भूमिका छ। मण्डला थिएटरबाट अभिनय करिअर सुरु गरेका दयाहाङ र विजयले एकसाथ थुप्रै फिल्ममा काम गरिसकेका छन्।
विजय दयाहाङ् राईसँग पहिलोपटक ‘कबड्डी’ मा देखिएका थिए। जहाँ दुबैको केमेस्ट्रीलाई निकै रुचाइएको थियो। त्यसबेलादेखि दुबैले थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्। फिल्म हेरिसकेपछि पत्रकारसँगको कुराकानीले दयाहाङले आफू विजयको संघर्षको साक्षी रहेको बताए। उनले यो फिल्म हेर्दा निकै आनन्द आएको बताए।

‘फिल्म हेर्दा एकदम आनन्द लाग्यो। फिल्म हेर्दा आफूलाई पनि कनेक्ट हुने। हरेक पात्रमा आफूलाई पाएँ। म बाउ पनि हो म छोरा पनि हो। म श्रीमान पनि हो। अनि साथी पनि हो। त्यो सबै चिजको कनेक्सन पाएँ।’ दयाहाङले भने।
अहिले बढी चर्चा भएपनि विजय १७ वर्षदेखिनै अभिनयमा निरन्तर लागिरहेको समेत उनले बताएँ। साथै विजयको सफलतामा निकै खुसी लागिरहेको उनको भनाई छ।
‘मैले विजयलाई चिनेको १७ वर्ष भयो। त्योबेला देखिनै उ अभिनयनै गरिरहेको छ। सिनेमा गरेको चाँहि १३ वर्ष भयो। यो उसको लगनशहिलता हो। आफ्नो कामप्रतिको इमान्दारिता हो। यो सफलता त्यसको मूल्य हो। त्यसमा मलाई एकदमै गर्व र खुसी लागिरहेको छ। यो एकदिन हुनुथियो। अझै बढी हुनेछ,’ दयाहाङले भने।
पहिल्यैदेखि विजयको अभिनय देखेपछि आफू ट्वा पर्ने गरेको उनको भनाइ छ।

‘मैले उसको अभिनय हेरेको १७ वर्ष भयो। उसले जहिले नै ट्वा नै पार्ने हो। किनभने नाटकमा मेरो निर्देशकमा उसले काम गरेको छ। मेरो कोएक्टरको रुपमा काम गरेको छ। हरेक अनसेट उसले ट्वा पार्ने हो, उनले भने, ‘अब आम मानिसले लिड क्यारेक्टरलाई अगाडि हेर्छ। तर, उसले पछाडि कति आनन्दले काम गरिरहेको हुन्छ। यो फिल्ममा मुख्य क्यारेक्टर पायो। क्यारेक्टरलाई मजाले बोकेर लगेको छ। यसरी मजाले चर्चा भयो। अहिले त महा ट्वाहा पारेको छ। यसरी इमान्दारिताका साथ काम गर्नु चुनौती हुन्छ।’

यस फिल्मले विश्वभरिबाट ४५ करोड ग्रस कलेक्सन गरिसकेको छ। नेपालमा २५ करोड ग्रस कलेक्सन गरेको यस फिल्मले विदेशमा भने २० करोडको आकडा पार गरेको छ। डायस्पोरामा विदेशी फिल्मसरह हलमा नियमित प्रदर्शन भैरहेको फिल्मलाई दर्शकहरुको बलियो साथ छ। नेपालसहित विदेशमा पनि टिकट पाउन मुस्किल छ। यस फिल्मले प्रदर्शनको दोस्रो शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख कमाइ गरेको थियो। शनिबारको व्यापार नेपाली सिनेक्षेत्रमा हालसम्ममै एकदिनको सर्वाधिक कमाइ हो। साथै यस फिल्मले अत्याधिक शो पाउने फिल्मको समेत रेकर्ड कायम गरिसकेको छ।

रिलिजअगावै चर्चामा रहेको यो फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ। सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











