सोमबार, पुष ०८, २०८१

गाउँ छोड्दै युवा, बाझिँदै जमिन


२८ कात्तिक, रुकुम पश्चिम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो ।

एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो । अहिले युवाशक्तिको अभावमा करिब चार सय ५० परिवारका अधिकांश जग्गा बाँझो रहेका स्थानीय बुद्धिजीवी हरिबहादुर बुढामगरले बताउनुभयो । खदी गाउँको कालजुरा, लहाँ, चिन्चौर, बाँस्तला बजिनीलगायत गाउँका अधिकांशले आजभोलिल खेती गर्न छोडेका छन् । बुढामगरले भन्नुभयो, “जनशक्ति अभावकले खदीका स्थानीय खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य छन् । अध्ययन र रोजगारीका सिलसिलामा युवा पलायन हुँदा खुदी गाउँको रौनक हराएको छ ।

तलि, सल्लेरी र पाटा गाउँ मिलेर खदी गाउँ बनेको छ । कुनै बेला युवा बाहुल्य रहेको खदी गाउँमा आजभोलि विस्तारै बस्ती पातलिँदै गएको छ । युवा जनशक्ति शिक्षा र रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिँदा कालजुरा, लहाँ, बाँस्तला, चिन्चौरलगायतको बस्ती खाली हुने अवस्थामा पुगेका बुढामगरले बताउनुभयो । गाउँघरमा चल्ने अर्मपर्ममा युवा भेट्नै मुस्किल हुन थालेको छ । टोल छिमेकमा मर्दापर्दा तथा सामुदायिक कार्यक्रममा युवाको सहभागिता कमै देखिन्छ । सरसफाइ, खानेपानी र बाटोघाटो निर्माणलगायत का वृद्धवृद्धाको भरमा सञ्चालन हुने गरेको उहाँले बताउनुभयो ।

कालजुरा, लहाँ, चिन्चौरलगायत स्थानमा पहिले बाक्लो बस्ती थियो । यहाँका किसान खेतीपाती र पशुपालनबाट आत्मानिर्भर थिए । कुनै समय गुल्जार भएका ती गाउँ आजभोलि सुनसान छन् । मकै र गहुँ उत्पादन हुने यी गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । खेतीयोग्य जमिन बाँझो रहनुको कारण युवा पलयन हुनु र बाँदरबाट उत्पादित खेती बचाउन नसक्नु रहेको बुढामगरको भनाइ हो ।

परम्परागत कृषिबाट गुजारा नचलेपछि खदीका केही घरधुरी आठबिसकोट नगरपालिकाको राडी बजार, सदरमुकाम मुसिकोट, दाङ, सुर्खेतलगायत सहरमा बसाइँ सरेका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय युवाले पनि सहरबजारतिर जमिन जोडेका छन् ।

बाध्यताले गाउँ छाडेर सहर पुगेका युवा त्यहीँ रमाएर गाउँ नर्फकिँदा गाउँ रित्तिँदै गएको स्थानीय शिक्षक कमल रोकाको अनुमान छ । उच्च शिक्षाका लागि केही समय काठमाडौँमा रहनुभएका उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत आवश्यकताको उचित प्रबन्ध हुन नसक्दा अवसरको खाजीमा गाउँ छाडेका युवा पुनः गाउँ फर्कदैनन् ।

आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विकले युवा पुस्ताले धमाधम गाउँ छाड्दा जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गरी स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको भन्दै उहाँले युवाको अभावमा नगरको आत्मनिर्भर अभियान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्नुभयो ।

अहिले खदी गाउँमा खसी, राँगा तथा स्थानीय प्रजातिका कुखुरापालन हुन छोडेको स्थानीय नरबहादुर बुढाले बताउनुभयो । “गाउँमा बाटो पुगेसँगै पहिलेको भन्दा सेवासुविधा पनि बढेको छ । यसवा अवसरको खोजीमा गाउँ बाहिर जाँदा खेती गर्ने, पशुचौपालन गर्नेको कमी हुँदै गएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार कुनै समय झारमारे, जलजला, बसेरा चरनक्षेत्र र बुकीपाटन पशुचौपायाले भरिनेमा अहिले पशुपालन नभएपछि बुकीपाटन रित्ता देखिन्छन् ।

बर्खायाममा गोठाला र पशुचौपायाले रमझम हुने खर्कहरु अहिले सुनसान छन् । कतिपय घरपरिवारले भने भेँडापालनलाई निरन्तरता दिँदै आएका छन्”, स्थानीय सुरेश विकले भन्नुभयो ।

जनशक्ति अभाव हुँदा जीर्ण बनेका घर पुनःनिर्माण भएका छैनन्, भत्केका घर झाँडीमा परिणत भएका छन् भने जमिन बाँझा छन् । कतिपय बस्तीसम्म सडक सञ्जाल विस्ता नहुँदा किसान काम गर्न घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

अत्यावश्यक पूर्वाधारको कमी, आधारभूत सेवाको पहुँच नहुुनु तथा युवा जनशक्तिको अभावलगायत कारणले खदी गाउँका स्थानीय कृषि पेसाबाट पलायन हुन थालेका स्थानीय बुद्धिजीवी रणबहादुर परियारले बताउनुभयो । “पहिले गाउँलेहरु वर्षभरि खाना पुग्ने अन्न उत्पादन गर्न गाउँगाउँ गएर परम्परागत कृषिमा आबद्ध हुन्थये । अहिले पारिवारिक सदस्य कम हुँदा विस्तारै परम्परागत कृषि पेसा छोड्दै गएका छन् ।

रणबहादुरले घरमा काम गर्ने सक्ने सदस्यको कमी रहेको बताउँदै भएको बारी बेच्ने योजना बनाएको बताउनुभयो । “छोराछोरी साना छन् । घरबारी बिक्री गर्न चाहे पनि खरिद गर्ने कोही छैनन् । सबैले गाउँ छाडेपछि किन्ने मान्छे पनि पाइँदैन”, उहाँले भन्नुभयो ।

खदी गाउँका अधिकांश परिवारमा रणबहादुरको कथा छ । वडा नं ३ का करविर परियारले काल्जुराको घर छाडेको आठ वर्ष भएको बताउनुभयो । “बसोबास नभएपछि पुर्खाको घर भत्केको छ”, उहाँले भन्नुभयो, “काम गर्ने जनशक्ति नभएपछि अहिले थोरै क्षेत्रफलमा खेतीपातीसँगै बाख्रापालन गरेको छु ।

सबैले घर छाडेपछि भत्किएका घरमा बाँदरको रजाइँ छ । बाबु, बाजेले रगतपसिना बगाएर जोहो गरेको पुख्र्यौली ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अवसर सृजना गरी युवा पलायनदर रोक्नुपर्ने स्थानीय बताउँछन् । खदी गाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यहाँबाट झारमारे लेक, जलजला, सिस्ने हिमाल र चित्रिपाटनको दृश्यावलोकन गर्न सकिन्छ । गाउँलाई व्यवस्थित गरी अवसर सृजना गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रयाएर आर्थिकस्तर सुधार गर्न सकिने स्थानीयको भनाइ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading