11/06/2025, 17:13:09
बिहिबार, कार्तिक २१, २०८२

विद्यालयमा आगालागी हुँदा दुई करोड बढीको क्षति


अदानचुली (हुम्ला), २० कात्तिक । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो ।

अगालागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताए । उनका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगालागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन् ।

कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्मोनियम, क्यासियो, ड्रमसेट, २०५२ साल देखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताए । उनका अनुसार भौतिक संरचनासहित रु दुई बरोड बराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ ।

विद्यालय नजिक बस्ती तथा आगो बाल्ने घरसमेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगालागी गरेको हुनसक्ने आशङ्का गरिएको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए । आगालागी भएको समयमा कार्यालय कोठाको ढोका खुल्ला रहेको पाइएको उनको भनाइ छ । उनका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..