11/10/2025, 17:13:49
सोमबार, कार्तिक २४, २०८२

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार


कर्णाली,  कात्तिक २४ गते । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनाेटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा  स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ ।

संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा अघि बढनुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको सचिव विकले बताउनुभयो । छलफलमा दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपाय खोजिनेछ ।

दुईदिने भेलामा नगरप्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुने सचिव विकले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..