२५ कात्तिक, काठमाडौं । विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रुपमा कीर्तिमान रचेको छ । प्रदर्शनको दशौं दिन शनिबार फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको हो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको १० दिनसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ । फिल्मले यो अवधिसम्म देशब्यापी १७ करोड ९८ लाखको कमाइ गरेको छ ।
यसअघि एकैदिनमा धेरै कमाउने फिल्मको रेकर्ड ‘कबडडी ४’सँग थियो जसले पहिलो दिनमै २ करोड ९० लाख ग्रस (३ करोड हाराहारीमा) कमाइ गरेको थियो । रोचक के छ भने, ‘कबड्डी ४’मा विजय सहायक भूमिकामा थिए । ‘पूर्णबहादुरको सारंगी’मा शीर्ष भूमिकामा छन् । यो गजबको बक्सअफिस संयोग उनको करिअरमा देखिएको छ । साढे २ महिनापछि बरालले आफ्नै फिल्मको कीर्तिमान तोडेका छन् ।
‘पूर्णबहादुरको सारंगी’को कमाइको गति यस्तै किसिमले कायम रहे यसले अन्य कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड यतिबेला ‘कबड्डी ४’सँग छ जसले साढे २३ करोड ग्रस कमाएको थियो ।
निर्माताले साढे २३ करोड कलेक्सनको हिसाब दिएपनि चलचित्र विकास बोर्डको तथ्यांकमा भने ‘कबड्डी ४’को कलेक्सन २१ करोड ३८ लाख ग्रस छ । यो फिल्मका ७ लाख ६६ हजार टिकट विक्री भएका थिए । फिल्म ‘पूर्णबहादुरको सारंगी’ यतिबेला प्रदर्शनरत छ ।