मङ्गलबार, पुष ०९, २०८१

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म बिक्री !


२४ कात्तिक, म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आउनुभएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताउनुभयो ।

विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ”, उहाँले भन्नुभयो,  “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोग-योग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।

बेनी–९ घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र दुई किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिनुभयो । प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उहाँले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेका बताउनुभयो । गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब दुई सय किलो बिक्री भएको बानियाँले बताउनुभयो । धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् ।

घतान क्षेत्रमा यस वर्ष करिब दुई हजार किलो टिमुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । बेनी–९ ढावाका नरबहादुर राईले रु २० हजारको टिमुर बिक्री गरिसकेको जनाउँदै थप रु ४० हजार बराबर फल बिक्रीका लागि तयार भएको बताउनुभयो ।

खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन्”,  किसान राईले भन्नुभयो,  “फलाउन र टिप्न सक्नुप¥यो, टिमुर बिक्रीका लागि बजारको समस्या छैन, घरबाटै बिक्री हुन्छ ।

बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । “बेनी–९ जिल्लामा बढी टिमुर खेती हुने स्थान हो”, उहाँले भन्नुभयो, “म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको हाम्रो तथ्याङ्क छ ।

पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताउनुभयो । “एउटै रूखमा दुई किलोसम्म टिमुर फलेको छ”, उहाँले भन्नुभयो, “यसपाली छ किलो बिक्री गर्ने तयारी गरेकी छु ।

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान बताउँछन् । “काँडाधारी रूख हुने भएकाले टिमुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने जोखिम पनि हुन्छ”, किसान राईले भन्नुभयो ।

भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई दुई वर्षअघि लुपथान्सा एयरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्न जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो । डिभिजन वन कार्यालयले टिमुर प्रशोधन गर्ने औजार उपलब्ध गराएको छ ।

जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । डिभिजन वन कार्यालयले गत वर्षमा २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो । जिल्लास्थित उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading