12/18/2025, 21:35:27
बिहिबार, पुष ०३, २०८२

हेटौँडाको प्रगतिचोकमा सवारी दुर्घटनामा सात जना घाइते


मकवानपुर, पुस ३ : पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगतिचोक सडक खण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।

हेटौँडा ९ स्थित प्रगतिचोकमा बिहीबार हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–० ०१ ज ०१११ न. को विद्युतीय गाडीले विपरीत दिशा रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३ ००६ प ९७५ न.को स्कुटरलाई ठक्कर दिई पुनः विद्युतीय गाडी ले विपरीत दिशा रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा १७ च ४२७२ न. को स्कार्पियो पिकअपमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाईते हुनेहरुमा विद्युतीय गाडीमा सवार हेटौँडा ४ कर्राकी ३७ वर्षीया सरस्वती राणा, स्कार्पियोमा सवार भोजपुर जिल्ला षडानन्द नगरपालिका १० का ६६ वर्षीय हेमसाङ तामाङ र स्कार्पियोमा सवार ५९ वर्षीया राजकुमारी तामाङ रहनुभएको छ । तीनै जनाको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी विद्युतीय गाडीका चालक हेटौँडा १५ रातोमाटेका २५ वर्षीय सुमन लामा, विद्युतीय गाडीमा सवार मकवानपुरगढी गाउँपालिका ५ भालुखोलाका ७८ वर्षीय टीका प्रसाद तिमिल्सिना, स्कुटर चालक हेटौँडा ९ का ३९ वर्षीय दीपक रुम्बा र स्कुटर पछाडि सवार दिपक रुम्बाकी छोरी पाँच वर्षीया ग्रेसी रुम्बा रहेका छन् । प्रहरीका अनुसार उनीहरुको मकवानपुर सहकारी अस्पतालमा उपचार भएको छ ।

तीनवटै सवारी साधनमा क्षति भएको र ती सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते हेमसाङ तामाङको टाउकोमा चोट लागेको र क्यान्सर सम्बन्धी बिरामी रहेकोमा उपचारको लागि काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ ।

यसैबिच भीमफेदी–कुलेखानी–काठमाडाँै सडक खण्डमा सुमो दुर्घटना भएको छ । वीरगंजबाट काठमाडौँ जाँदै गरेको ना.१ ज ६९५६ नं. को टाटा सुमो मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २ बतासेस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा बुधबार साँझ अचानक ब्रेक जाम हुँदा अनियन्त्रित भई बिच सडकमा पल्टिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा चालकसहित नौ जना सवारमध्ये पहिचान नखुलेका एक महिलाको टाउकोमा सामान्य चोट लागि प्रहरी पुग्न अगावै उपचारको लागि काठमाडौँतर्फ पठाएको जनाएको छ ।

– राममणि दाहाल