भैरहवा, २ पुस : चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार साँझ कतार लगिएको छ । चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा हुर्किनेछन् ।
दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो । बुधबार साँझ साढे ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको थियो ।

हात्ती हस्तान्तरणका लागि बुधबार विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुखको बास होस् भनेर कामना गरे । ‘आफूले पालेका जनावर उपहार दिँदा मुटु टुक्रिएजस्तो भएको छ,’ वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले भने, ‘छोरी अन्माएजस्तै भयो ।’ दुवैको नयाँ घरको बास सुखद बनोस् र सन्तान वृद्धि होस् भनेर शुभकामना दिए ।
बिदाइ कार्यक्रममा सहभागीले कतारमा हात्तीको स्वास्थ्य सुधार र संख्या वृद्धि भएको हेर्ने धोको रहेको बताए । ‘हात्ती दान नेपाल र कतारबीच गहकिलो सम्बन्धको प्रमाण पनि हो,’ मिश्रले भने, ‘मुलुकले पहिलोपटक हात्ती उपहार दिएको हो । हात्ती हुर्काउन योगदान गर्ने माहुतेदेखि कर्मचारी र चितवनका स्थानीयलाई धन्यवाद ।’

कतारमा वातानुकूलित वातावरण हुने भएकाले हात्तीलाई ‘स्ट्रेस’ नहुने संरक्षणकर्मीले बताए । नेपालबाट जाने दुई माहुते र एक जना भेटेरीनरी प्राविधिकले एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार र रेखदेखबारे त्यहाँका नागरिकलाई सिकाउने छन् । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् २०२४ अप्रिलमा कतारका अमिरको राजकीय नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले हात्ती उपहार प्रदान गर्ने निर्णय गरेकामा अहिले त्यसको कार्यान्वयन गरिएको बताए ।
‘अहिले हामी यहाँबाट बिदाइ गर्दैछौं,’ उनले भने, ‘बिहीबार कतारको राष्ट्रिय दिवसका दिन हात्तीले कतारी जमिन छुनेछन् ।’ नेपालले सन् १९७७ जनवरी २१ बाट कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । उक्त सम्बन्ध स्थापना भएको अर्को वर्ष ५० वर्ष पूरा हुँदैछ । ‘कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्ने बेला उपहारस्वरूप हात्ती प्रदान गरिएको छ,’ उनले भने, ‘यसले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।’

निकुञ्ज विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बुधबार रातिबाट कतार खगेन्द्र र रुद्रकलीको नयाँ घर हुने बताए । हात्ती उपहार दिनुले नेपाल र कतारबीच हात्तीजस्तै बलियो सम्बन्ध रहेको प्रस्ट भएको उनले बताए । हात्ती हस्तान्तरण गर्नुपूर्व कतारमा रहेको चिडियाखाना पुगेर नेपाली प्राविधिक टोलीले अध्ययन गरेको थियो । उक्त टोलीले हात्ती राख्न सकिने रायसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रहेर हस्तान्तरण गरिएको पौडेलले बताए । उनका अनुसार ७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरखोर प्रजनन केन्द्रमा जन्मिएको थियो ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कानुन बमोजिम साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र जारी गर्ने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर दुवै हात्तीलाई कतारको दोहा पठाइएको उल्लेख छ ।
हात्ती हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जीवी पोखरेल, राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका प्रमुख, सुरक्षा प्रमुख र कतारी दूतावासका प्रतिनिधि सहभागी थिए ।
– दीपेन्द्र बडुवाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















