काठमाडौँ, मङ्सिर २४ : लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ ।
पहिला ब्याटिङ गरेको काठमान्डु बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो । जबाफमा आएको लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पूरा गर्यो । लुम्बिनीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।
शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । शेरले ४ ओभरमा २२ र रोहितले ४ ओभरमा २५ रन खर्चे । रुबेन ट्रम्पलमनले ३.१ ओभरमा १० रन खर्चेर २ र अभिशेष गौतमले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको नियमीत विकेट झरिरह्यो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लु भए ।
ट्रम्पलमनले बेन चार्ल्सवर्थलाई ४ रनमा कट बिहाइन्ड गरी लुम्बिनीलाई अर्को ठूलो सफलता दिलाए । मिलिन्द कुमारलाई २ रनमा शेरले बोल्ड गरे । भीम सार्कीले १ छक्का प्रहार गरी १६ बलमा १४ रन बनाए । रोहितले एकै ओभरमा भीम र जोहन सिम्पसनलाई आउट गरी खेल पूर्णरुपमा लुम्बिनीको नियन्त्रणमा राखे ।
भीम लेग साइडमा गएको बल एक हाते सट हान्न खोज्दा सर्ट फाइन लेगमा क्याच दिन पुगे । सिम्पसन १७ बल खेली समान १ चौका र छक्का प्रहार गरी १८ रनमा आउट भए । रशिद खानले २ रनमात्र बनाउन सके । त्यसपछि आएका मोहम्मद आदिल अन्सारीले २ छक्का र १ चौका प्रहार गर्दै ११ बलमा १८ रन बनाए । उनलाई शेरले बोल्ड गरे । करणले पनि १ छक्का प्रहार गर्दै ९ रन जोडे । सन्तोष यादवले काठमान्डुबाट सर्वाधिक २३ रन बनाए । आउट हुने अन्तिम खेलाडी सन्तोषले १७ बल खेली १ छक्का प्रहार गरे । शाहव आलम ४ रनमा अविजित रहे ।
लुम्बिनीले निकै संयमीत ब्याटिङ गर्दै लक्ष्य पूरा गरेको थियो । ओपनिङ ब्याटिङमा ल्याइएका दिनेश अधिकारी ४ रनमै आउट भए । उनका ओपनिङ जोडी डी’आरसी शटले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बल खेली २ छक्का प्रहार गरे । रोहित १८ रनमा आउट भए । उनले २५ बल खेली समान १ चौका र छक्का प्रहार गरे ।
सन्दीप जोराले प्रतिबलको हिसाबले २३ रन बनाए । उनले पनि समान १ चौका र छक्का प्रहार गरे । निरोशन डिकवेलाले १४ बल खेली २ चौकासहित १४ रन जोडे । दिलीप नाथ ७ रनमा आउट भए । ट्रम्पलमनले विजयी चौका प्रहार गर्दै लुम्बिनीलाई जिताए । काठमान्डुका सन्तोषले २ तथा सन्नी, शाहव, करण र रशिदले १–१ विकेट लिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














