01/01/2026, 02:57:07
बुधबार, पुष १६, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस-२०८२

ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छ : ललितपुर महानगर मेयर महर्जन


काठमाडौँ, मङ्सिर १९ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाभन्दा राम्रो काम गरेको दाबी गरेका छन् ।

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस -२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबीसमेत गरे ।

आफूले बोलेका सबै कुराहरू पूरा हुने गरी काम गरेको उनको जिकिर थियो । मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गरे ।

सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले आभारसमेत व्यक्त गरे ।

यस्तो छ मेयर महर्जनका कुरा

हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैंले गरेको होइन । तर आम नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस् । ललितपुर महानगरपालिका भन्नासाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ । अब यसमा स्वास्थ्य क्षेत्रमा काम गरेको कामको निमित्त म तपाईंहरूलाई क्रेडिट दिन चाहन्छु । हामी चुनावमा जितेर आएका व्यक्तिहरू स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन ।

तपाईंले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरू हामीले ग्रहण गर्छौं । कार्यान्वयन गर्छौं । तसर्थ तपाईंहरूले दिनुभएको सुझाव, तपाईंहरूले गर्नु भएको कन्ट्रिब्युसन, तपाईंहरूको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो । हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २/३ वटा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्दै आइरहेका छौँ । अस्तिको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरष्कृत गरेको छ ।

यो पुरस्कारहरू पाउनु भनेको पनि टिमवर्कको परिणाम हो । हामी जसरी सफल भइरहेका छौँ । यसका लागि पनि यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहेँ । हामी जे बोल्छौँ, त्यो पूरा गर्छौँ ।