लेखनाथ, पुस १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेन-जी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पछिल्लो आन्दोलनको उद्देश्य र देशको आवश्यकता सम्बोध गर्न लागिपरेको सुनाउनुभयो ।
सभापति लामिछानेले भन्नुभयो, “रास्वपा र जेन-जी आन्दोलनका एजेन्डा मेल खान्छन्, उद्देश्य एकै हुन् । हामी जेन-जीका माग सम्बोधन गर्न प्रतिवद्ध छौँ ।” लोकतन्त्रको विकल्प नभएको सुनाउँदै उहाँले लोकतन्त्र र अहिलेको व्यवस्थामा रहेका कमजोरी सुधार्दै अघि बढ्ने प्रष्ट पार्नुभयो ।
पहिले देशको अवस्था फेर्नमा ध्यान दिने सुनाउँदै उहाँले रास्वपा बलियो भएपछि व्यवस्था पनि परिमार्जन हुन सक्ने उल्लेख गर्नुभयो । “मलाई झुठा मुद्दा लोकतन्त्रले लगाएको होइन, लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो,” उहाँले भन्नुभयो, “हाम्रो सामथ्र्य पुगेपछि व्यवस्थामा परिमार्जन आवश्यक भए त्यो गर्छाैँ ।”
आफू साविकमा निर्वाचन लडेको चितवन क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने जानकारी दिँदै उहाँले चुनावअघिको गठबन्धन नहुने प्रष्ट पार्नुभयो । फागुन २१ मा हुने निर्वाचनबाट रास्वपा बलियो शक्ति बन्ने दाबी गर्दै उहाँले देशलाई सकारात्मक परिवर्तनको दिशाले लैजाने अठोट व्यक्त गर्नुभयो ।
“जनताले ठूला आशा गरेका नेताहरु पछिल्लो क्रममा पार्टीमा आउनुभएको छ, नागरिकले विवेक प्रयोग गर्नेमा हामी विश्वस्त छौँ,” उहाँले भन्नुभयो । समानुपातिक उम्मेदवारको सूचीबारे केही विवाद र छलफलमा आएका विषयलाई सम्बोधन गरिने उहाँको भनाइ छ । “समानुपातिकका सबै गुनासा सम्बोधन गर्छाैँ किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भन्नुभयो ।
उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह रास्वपामा आएपछि आशाको सञ्चार भएको उहाँको भनाइ छ । “ममाथि ठाउँ ठाउँमा मुद्दा भएकाले मात्र होइन, केही नभएको भए पनि उहाँहरुलाई रास्वपाले दिनुपर्ने ठाउँ त्यही हो,” सभापति लामिछानेले थप्नुभयो, “बालेनजीलाई प्रधानमन्त्रीका रुपमा देशले देख्न चाहेको छ ।”
– फडिन्द्र अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










