12/31/2025, 17:38:42
बुधबार, पुष १६, २०८२

सलमान खान : फिल्म ‘फ्लप’, पारिश्रमिक भने करोडौँ


काठमाडौँ, पुस १६ : बलिउड अभिनेता सलमान खान  पुन: पर्दामा देखिँदैछन् । आगामी १७ अप्रिल २०२६ मा उनको नयाँ फिल्म ‘ब्याटल अफ गलवान’ प्रदर्शनमा आउँदैछ । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ । यो सँगै अन्य फिल्महरूमा उनले कति पारिश्रमिक लिए ? आम प्रशंसक र शुभचिन्तकलाई यसबारे चासो छ ।

सलमान सामान्यतया निश्चित शुल्कसँगै नाफा बाँडफाँट (प्रोफिट सेयरिङ)मा सम्झौता गर्ने अभिनेता मानिन्छन् । सलमानका लागि सन् २०२५ अपेक्षित भएन । ए.आर. मुरुगादासको निर्देशनमा बनेको ‘सिकन्दर’ कमाइको हिसाबले असफल रह्यो । पछिल्ला ३–४ वर्षमा आएका उनका अधिकांश फिल्मले अपेक्षा अनुसार व्यापार गर्न सकेका छैनन् ।

ब्याटल अफ गलवान’मा सलमानले करिब ११० करोड रुपैयाँ पारिश्रमिक लिएको रिपोर्टमा उल्लेख छ । एउटा फिल्मका लागि उनी १०० देखि १५० करोड रुपैयाँसम्म लिने गर्छन् । सन् २०२५ मा रिलिज भएको ‘सिकन्दर’को बजेट करिब २०० करोड रुपैयाँ रहेको बताइन्छ । फिल्मले विश्वभर १ सय ८४ करोड रुपैयाँ मात्रै कमायो ।

भारतमा १०० करोड रुपैयाँको कारोबारमा सीमित रह्यो । रिपोर्टअनुसार सलमानले यस फिल्मका लागि करिब १ सय २० करोड रुपैयाँ लिएका थिए । सन् २०२३ मा रिलिज भएको सलमान खान र कट्रिना कैफ अभिनीत ‘टाइगर ३’ को बजेट करिब ३०० करोड रुपैयाँ थियो । फिल्मले विश्वभर ४ सय ६४ करोड र भारतमा २ सय ८२ करोड रुपैयाँ नेट कलेक्सन गर्‍यो ।

सलमानले फिल्मका लागि करिब १०० करोड रुपैयाँ पारिश्रमिक लिएको र ६० प्रतिशत नाफा बाँडफाँटको सम्झौता भएको बताइन्छ ।

सन् २०२३ कै सुरुआतमा रिलिज भएको ‘किसीका भाइ किसिका जान’ फिल्मको बजेट १ सय २५ देखि १ सय ५० करोड रुपैयाँ थियो । ठूलो स्टार कास्ट भए पनि फिल्मले विश्वभर करिब १८० करोड रुपैयाँ मात्रै कमायो । भारतमा यसको कलेक्सन ११० करोड रुपैयाँ रह्यो । सलमानले यस फिल्मका लागि करिब १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको उल्लेख छ ।