12/31/2025, 17:38:42
बुधबार, पुष १६, २०८२

निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून विन्दुमा पुगेको छ : चन्द्र ढकाल


काठमाडौँ, पुस १६ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले समृद्धिका लागि निजी क्षेत्रलाई पर्याप्त संरक्षण नपुगेको बताएका छन् । उनले निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न नपाएको उल्लेख गर्दै उद्यम र उद्यमशीलता विस्तारका लागि लगानीमैत्री वातावरणसँगै सम्पत्तिको सुरक्षा ग्यारेन्टी अनिवार्य रहेको बताए ।

उनले भने, ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउने हो कि भन्ने चिन्ता छ ।’  उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकको बृहत् भेलामा अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

अध्यक्ष ढकालले सरकारले वर्षमा करिब ३ हजारदेखि ३५ सय जनालाई मात्र वार्षिक रोजगारी दिन सक्ने अवस्था रहेको उल्लेख गर्दै निजी क्षेत्र खुम्चिए रोजगारी कसरी सिर्जना हुन्छ भनेर प्रश्न गरे । उनले निजी क्षेत्र नीतिगत अवरोध, प्रक्रियागत झन्झट र सर्वसाधारणमै निजी क्षेत्रप्रति नकारात्मक धारणा रहेको समस्याबाट ग्रसित रहेको बताए ।

अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्रप्रति राजनीतिक दलहरूको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भएर काम गर्न नदिने हो भने हामी सफल हुँदैनौं । हामी सफल भएनौं भने यसको असर आगामी पुस्तासम्म पुग्नेछ । हामीले आगामी पुस्तालाई सफल मुलुक हस्तान्तरण गर्ने कि असफल, यो प्रश्न हो ।’  निजी क्षेत्रबाट हुने आर्थिक गतिविधि सरकारको प्राथमिकतामा नपरेको पनि उनले बताए ।

अध्यक्ष ढकालले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्र नै तारो बनेको उल्लेख गर्दै त्यसबेला करिब ४० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति र झन्डै ८१ अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रको नोक्सानी भएको बताए । उनले ढलेका निजी क्षेत्रका संरचना पुनर्निर्माण गरिए पनि फेरि निशानामा नपर्ने कुनै ग्यारेन्टी नरहेको बताए । ‘नेपालको निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून विन्दुमा पुगेको छ,’ ढकालले भने ।