12/31/2025, 23:21:38
बुधबार, पुष १६, २०८२

उम्मेदवारको बन्दसूची सच्याउने भन्दै रास्वपाद्वारा विज्ञप्ति जारी


काठमाडौँ, पुस १६ : राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची सच्याउने भएको छ । समानुपातिक बन्दसूची बुझाउने बेला पार्टी एकता लगायतका कारणले हतार हुँदा कमि-कमजोरी भएको हुनसक्ने भन्दै रास्वपाले ती कमजोरी सच्याउने भन्दै विज्ञप्ति जारी गरेको छ ।

रास्वपाले पुस १४ मा समानुपातिक तर्फबाट ११० जना उम्मेदवार रहेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको थियो । बुधबार रास्वपा सचिवालयले विज्ञप्ति जारी गरेर समानुपातिक बन्दसूची सच्याइने जानकारी दिएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ रास्वपा सचिवालयले भनेको छ, ‘उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पुस १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ ।

रास्वपाले समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले समानुपातिक बन्दसूची बुझाउने प्रक्रियामा कमी-कमजोरी भएको हुनसक्ने भनेको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र नै समानुपातिक बन्दसूची सच्याउने रास्वपा सचिवालयले जानकारी दिएको छ ।