12/04/2025, 14:50:08
बिहिबार, मङि्सर १८, २०८२

एनपीएल : लुम्बिनीद्वारा विराटनगर ५ विकेटले पराजित, जितसँगै प्लेअफमा पुग्ने आशा कायम


काठमाडौँ, मङ्सिर १७ : डी’आरसी शटको सानदार अर्धशतकमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारको खेलमा दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस समावेश विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।

शटले ४४ बलमा ५७ रन बनाएपछि लुम्बिनीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १ सय ४५ रनको लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो । ६ खेलमा तेस्रो विजय हात पार्दै लुम्बिनीले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । लुम्बिनी हाल चौथो स्थानमा छ । आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमात्र लुम्बिनी प्लेअफमा सुरक्षित हुने सम्भावना बन्छ । विराटनगरको ६ खेलमा यो दोस्रो पराजय हो । ८ अंकसहित हाल तेस्रो स्थानमा रहेको विराटनगरले शनिबार सुदूरपश्चिम रोयल्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ ।

अस्ट्रेलियन ब्याटर शटले ६ चौका र २ छक्का प्रहार गर्दै लुम्बिनीलाई विजय दिलाउन महत्त्वपूर्ण भूमिका खेले । प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो । उनले र निरोशन डिकवेलासँग २४ बलमा ४६ रनको महत्वपूर्ण साझेदारी गरे ।

शट र सुमित महर्जनले पहिलो ४ ओभरमा २९ रन जोड्दै लुम्बिनीलाई राम्रो सुरुआत दिलाएका थिए । तर पाँचौं ओभरमा सुवास भण्डारीले सुमित महर्जनलाई १० र कप्तान रोहित पौडेललाई शून्यमा आउट गरि विराटनगरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सुमितलाई स्टम्प आउट गराएका सुवासले रोहितलाई डु प्लेसिसबाट सानदार क्याच आउट गराए ।

सन्दीप जोराले पनि २४ रनको महत्वपूर्ण इनिङ्स खेले । उनले १५ बल खेलि ३ चौका र १ छक्का प्रहार गरे । दीलिप नाथ १२ बल खेलि २ चौका प्रहार गर्दै १६ रनमा आउट भए । उनी लुम्बिनीलाई जितका लागि ३ रन चाहिएको अवस्थामा आउट भएका थिए । डिकवेला २९ र शेर मल्ल १ रनमा अविजित रहे । डिकवेलाले २२ बल खेलि २ चौका र १ छक्का प्रहार गरे ।

विराटनगरबाट सुवासले ४ ओभरमा ३०, कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २–२ तथा बसिर अहमदले १ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई १ सय ४४ रनमात्र बनाउन सकेको थियो । एनपीएलमा पहिलो खेल खेलिरहेका डु प्लेसिसले १२ रनमात्र बनाउन सके । ९ बल खेलि २ चौका प्रहार गरेका उनलाई अभिषेक गौतमले विकेटकिपर डिकवेलाले स्टम्प आउट गराए । त्यसअघि नै लुम्बिनीले खेलमा उत्कृष्ट सुरुआत गरेको थियो । खेलको दोस्रो बलमै शेरले जर्ज मन्सीलाई शून्यमा एलबीडब्लु आउट गरेका थिए ।

फाफले ओपनिङमा ब्याटिङ गरेपछि तेस्रो नम्बरमा आएका लोकेश बमले विराटनगरबाट सर्वाधिक ३५ रन बनाए । ४२ बल खेली समान २ चौका र छक्का प्रहार गरेका लोकेशलाई जेजे स्मिथले कट एन्ड बोल्ड गरे । साम हेजलेटले २७ रन बनाए । उनले २० बल खेलि १ चौका र २ छक्का प्रहार गरे ।

नारायण जोशी ५, प्रतिश जिसी ११, बसिर १९ बलमा समान १ चौका र छक्का प्रहार गरि २८ र साहिल पटेल ३ रनमा आउट भए । इनिङ्सको अन्तिम बल सामना गर्न आएका सन्दीपले छक्का प्रहार गरेका थिए । मर्च्येन्ट डी ल्याङ्गे ८ बल खेलि १० रनमा अविजित रहे ।  लुम्बिनीबाट शेरले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रनमात्र खर्चेका थिए । अभिषेकले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । नामिबियन जोडीद्वय रुबेन ट्रम्पलमनले ४ ओभरमा २४ र स्मिथले ३ ओभरमा ३४ रन खर्चेर १–१ विकेट लिए ।