11/12/2025, 13:18:56
बुधबार, कार्तिक २६, २०८२

एमालेबाट निष्कासित र अलग्गिएका भीम रावल नेकपामा जोडिँदै


काठमाडौँ, कात्तिक २६ : माओवादी पूर्वअध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा एमाले पूर्वउपाध्यक्ष भीम रावल सामेल हुने भएका छन् । एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए ।

बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रममा अभियान नेकपामा समाहित भएसँगै उनी नयाँ नेकपाको सचिवालय सदस्य चयन हुनेछन् । नेपाली कम्युनिस्ट पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने यसअघि नै सहमति भइसकेको छ । दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताले रावलको वरीयता निर्धारण हुने नेताहरूको भनाइ छ ।

छलफलमा सहभागी एक नेताका अनुसार रावल छैटौं वरीयतासहित पार्टीको ‘हाइकमान्ड’ (केन्द्रीय सचिवालय) मा रहने सम्भावना छ । नेकपाका सचिवालय सदस्य देव गुरुङले भने तीन नेता (दाहाल, नेपाल र रावल) बीच हुने सहमतिका आधारमा वरीयता निर्धारण हुने बताए । ‘विगतको पृष्ठभूमि, पार्टीको आवश्यकताका आधारमा नेताहरू जिम्मेवारीमा रहनुहुनेछ,’ उनले भने ।

रावल निकट नेता हर्कबहादुर कुँवरका अनुसार दाहाल – नेपालसँग पाँचबुँदे समझदारी भएको छ । कुँवरका अनुसार पार्टीमा छैटौं वरीयता कायम हुने, पार्टीका दस्ताबेज लेखनको नेतृत्व गर्ने, ६ महिनाभित्र महाधिवेशन गर्ने, रावल समर्थक नेता–कार्यकर्ताहरूलाई उचित स्थान प्रदान गर्ने लगायत समझदारी भएका छन् ।

गत कात्तिक १६ मा सम्पन्न एकता राष्ट्रिय सम्मेलनमा नेता बेदुराम भुसालको संयोजकत्वमा तयार पारिएको नेकपाको विधानमा केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, सचिवालय र केन्द्रीय कार्य संयोजन समिति (हेडक्वार्टर) रहने प्रावधान छ । नेता भुसालका अनुसार केन्द्रीय सचिवालयमा रहने नेताबाहेक अरू नेताको सूची वर्णानुक्रमअनुसार रहनेछ ।

करिब अढाई दशक एमालेको सुदूरपश्चिम क्षेत्रलाई नेतृत्व गरेका पूर्वउपाध्यक्ष रावललाई एमालेले ०८१ पुस १० गते पार्टी अनुशासनविपरीत अभिव्यक्ति दिएको भन्दै साधारण सदस्यबाट निष्कासित गरेको थियो । चितवनमा सम्पन्न दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेदेखि पार्टी गतिविधिबाट किनारातिर धकेलिएका रावल अन्ततः निष्कासनमा परेका थिए ।

अछाम निर्वाचन क्षेत्र १ बाट पाँच पटक निर्वाचन लड्दा तीन पटक जित र दुई पटक हार बेहोरेका रावलले मातृभूमि जागरण अभियान घोषणा गरे लगत्तैदेखि गृहजिल्ला अछाममा भेटघाट तथा भेलाहरू आयोजना गरेर आफ्ना समर्थकहरूलाई संगठित गरेका थिए ।

जसका कारण अछाम एमालेको संगठन अहिले पनि प्रभावित छ । मातृभूमि जागरण अभियानमा आबद्ध नेताहरूका अनुसार अछामका सात हजार संगठित सदस्यमध्ये करिब तीन हजार सदस्य एमाले त्यागेर रावलले सञ्चालन गरेको अभियानमा जोडिएका थिए । तर, मातृभूमि जागरण अभियानलाई देशव्यापी पनि बनाउन सकेनन् । उनले सुदूरपश्चिमेलीको ठूलो संख्या रहेको भारत प्रवासका मुम्बई, पुना, बैसुर लगायतका ठाउँमा आयोजित भेला पनि गरे ।

यसबीचमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका छन् । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबीच उनले दाहाल नेतृत्वमा नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय गरेका हुन । बुधबारको एकता घोषणा कार्यक्रमसँगै उनको नेकपा प्रवेशले औपचारिकता पाउनेछ ।  गत जेठ पहिलो साता सुरु गरेको मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानका क्रममा अछामको सभालाई सम्बोधन गर्ने क्रममै दाहालले रावललाई मञ्चबाटै सहकार्यको प्रस्ताव गरेका थिए ।

त्यसबेला दाहालले भनेका थिए, ‘यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखें, उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । मैले तपाईं किन अरू ठाउँ भौंतारिरहनुभएको छ । आउनुस् समय खेर नफाल्नुस्, हामी बसेर कुरा गरौं, सहकार्य गरौं ।’ तर रावलले भने दाहालको प्रस्तावलाई अछाम पुगेका बेला व्यक्त गरिएको राजनीतिक शिष्टाचार मात्र भन्दै प्रतिक्रिया दिएका थिए । तर, त्यसयता पनि दाहाल र रावलबीच अनौपचारिक कुराकानी भने भइरहेको थियो ।

रावल निष्कासनमा परेपछि सुदूरपश्चिममा एमालेलाई धक्का लाग्ने अनुमान गरिएको थियो । ०७९ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ १६ सिटमा दुई र प्रदेशतर्फका ३२ सिटमा तीनवटा मात्र जित्न सक्यो । एमालेको निराशाजनक नतिजामा रावललाई निष्कासन गरिनुको असरका रूपमा अर्थ्याइएको थियो । रावललाई टिकटसमेत नदिएर दलले पन्छाएपछि चुनावमा पनि उनी निष्क्रिय बसेका थिए ।

– गंगा बीसी, अर्जुन शाह