10/31/2025, 15:42:49
शुक्रबार, कार्तिक १५, २०८२

सङ्घर्षको कथा चलचित्र ‘वरिष्ठ बलराम’


काठमाडौँ, कात्तिक १४ : नेपाली चलचित्रमा रङ्गमञ्चका कलाकारको बाहुल्य देखिन थालेको छ । त्यसमाथि रङ्गमञ्चका कलाकारलाई अभिनय गरायो भने चलचित्र अवश्य चल्छ भन्ने मान्यता धेरै निर्देशकमा पर्न थालेको छ । रङ्गमञ्चबाट चलचित्रमा प्रवेश गरेका कलाकारले दर्शकबाट पनि प्रशंसा बटुलिरहेका छन् ।

चलचित्र ‘वरिष्ठ बलराम’ मा पनि यही कुरा लागु हुन्छ । प्राकृतिक स्रोतको दोहन र समाजमा स्थापित एवं उदाउँदो व्यक्तिबिचको सङ्घर्षको कथा हो चलचित्र ‘वरिष्ठ बलराम’ । रङ्गमञ्चमा गुरुचेलाका रूपमा परिचित अभिनेता विजय बराल र दयाहाङ राईबिचको नोकझोक, बुवाआमाको छोराप्रतिको प्रेम र मायाप्रेम बसेपछि त्यो कहाँसम्म पुग्छ भन्ने कुरा चलचित्रमा पस्कन खोजिएको छ ।

चलचित्रमा नायकले पूर्वाग्रहको सामना गर्छ र आफ्नो पहिचान पाउनका निम्ति अनेकन सङ्घर्ष गर्छ । अन्ततः परिवार रगतमा होइन, प्रेममा बनेको छ भनेर प्रमाणित गर्न अन्यायको विरुद्धमा उठ्छ र आफ्नो वरपरका मानिसको जीवनलाई परिवर्तन गरेरै छाड्छ । चलचित्रको कथाले सामाजिक मुद्दाको विषयवस्तुलाई मिश्रण गर्दछ, गरिबी, पहिचान र पूर्वाग्रहको सङ्घर्षलाई फरक ढङ्गबाट प्रस्तुत गरेको छ ।

बलराम (विजय बराल) गरिब इन्द्रबहादुर राई (माउत्से गुरुङ) र (पशुपति राई) ले हुर्काएका अनाथ ब्राह्मण केटा हुन् । इन्द्रबहादुर राई ट्याक्टर चालक हुन् र बलराम त्यही ट्याक्टर चलाएर घरपरिवारको जीविकोपार्जन गरिरहेका हुन्छन् । यस सँगसँगै ऋणमा किनेको ट्याक्टरको किस्ता तिर्नुपर्ने हुन्छ, जुन बलरामको परिवारलाई धेरै मुस्किल पर्छ । कसरी ऋण तिर्ने भन्ने सोचाइमा परेका बलरामले अन्त्यमा घिउखोलाको बालुवा चोर्छन् । जहाँ वरिष्ठ (दयाहाङ राई) का गुण्डाले फेला पार्छन् ।

यसपछि चलचित्रभित्र अनेकन मोड उत्पन्न हुन्छ । बुवा इन्द्रबहादुर जेल चलान हुनेदेखि लिएर उनलाई जुत्ताको माला लगाएर गाउँ घुमाउने कुराले अवश्य नै दर्शकको मनमा अनेकन कुरा उब्जाउन सक्छ । यसपछि बदलाको भाव भरिएको बलराम र वरिष्ठबिच के कस्तो द्वन्द्व हुन्छ भन्ने कुरा नै चलचित्र मुख्य विषय हो । घिउखोलाको ढुङ्गा, गिट्टी उत्खननका लागि दुवैबिच के कस्तो झैँ भगडाको मोड आउँछ भन्ने कुरा पनि चर्चाकै विषय हो । कुसुम (समृद्धि अर्याल) को बलरामसँगको प्रेम, आमाबुवाको सम्बन्ध र सङ्र्घषसँगै श्रीप्रसाद मामाको स्वार्थपूर्ण व्यवहारलाई पनि कथामा प्रस्त्ुत गरिएको छ ।

रङ्गमञ्चबाट चलचित्रमा प्रवेश गरेका कलाकारले अभिनयमा प्रायः प्रशंसा बटुल्छन् । यति हुँदाहुँदै पनि उनीहरूको नृत्यमा भने आलोचना भइरहेको हुन्छ । यस पटक कलाकार विजय बरालले यो झुटो साबित गरिदिनुभएको छ । उहाँले आफ्नो अभिनय सँगसँगै नृत्यबाट पनि दर्शकको मन जित्न सफल हुनुभएको छ । चलत्रिचको ‘न्यौली वनैमा’ बोलको गीतमा विजयको नृत्यको प्रशंसा भइरहेको छ । चलचित्र अवधिभर उहाँले ‘अर्गानिक’ अभिनय पस्कनुभएको छ ।

सधैँ एकै खालको भूमिकामा देखिने कलाकार दयाहाङ राई यस पटक भने बिलकुलै भिन्न भूमिकामा देखिनुभएको छ । चलचित्रमा उहाँ टाई, सुट र कोटमा ठाँटिनुभएको छ । उहाँको यो शैलीलाई दर्शकले मन पनि पराइरहेको छ । ‘फर्की फर्की’ बाट अभिनयमा पदार्पण गर्नुभएकी समृद्धिलाई कुसुमको भूमिका सुहाए पनि अभिनयमा भने अझ केही मेहनत गर्नुपर्ने देखिन्छ ।

पिके डनबाट चर्चामा आउनुभएका कलाकार प्रदीप कुमार चौधरी यस पटक चलचित्रमा माइलाको भूमिकामा देखिनुभएको छ । उहाँको तोतेबोलीसहितको अभियनले पनि दर्शकको मन जितेको छ । माउत्से गुरुङ र भोलाराज सापकोटाको अभिनय राम्रो छ । पशुपति राईको अभिनयले चलचित्रलाई मौलिक बनाउन सहयोग गरेको छ ।

प्रशान्त शिवाकोटीको शब्दरचना र सङ्गीत रहेको ‘न्याउली वनैमा’ गीतको बोल मिठो छ । समृद्धि अर्याल र विजय बरालको नृत्यले गीतमा झन् मधुरता थप्ने काम गरेको छ । निर्देशक पौडेलले चलचित्रको कथाको माध्यमबाट सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्न खोज्नुभएको छ । उहाँले गरिबी र अभावको क्षणलाई यथार्थ ढङ्गबाट सरल तरिकाले दर्शकले बुझ्न सकून् भनेर चलचित्रको कथामा उतार्नुभएको छ, जसले उहाँ सफलताको बाटोतर्फ उक्लिँदै गर्नुभएको प्रस्ट्याउँछ ।

– सुकृत नेपाल