10/28/2025, 18:08:37
मङ्गलबार, कार्तिक १२, २०८२

नुवाकोटका किसान बर्सातकै बिचमा धान भित्र्याउन व्यस्त


त्रिशूली (नुवाकोट), कात्तिक ११ गते ।यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बिच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।

चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार-हतार धान भित्र्याउन व्यस्त भएका छन् । कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छ भने भिजेको धान चिसोका कारण बिग्रन सक्ने भन्दै किसानले चिन्ता जनाएका छन् ।

अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ । यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो । पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..