काठमाडौं । माओवादी केन्द्रले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।
झुट्टा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेको भन्दै माओवादी केन्द्रले पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको हो ।
‘सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ,’ माओवादी नेता राजन दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।
’नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक तथा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट जेन–जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको उनको सचिवालयले हिजो खण्डन गरेको थियो । साथै प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको सचिवालयले जनाएको थियो ।
प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको थियो, ‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेनजी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौँ ।’त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको थियो ।
‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौँ,’ आचार्यले भनेका थिए । जेनजीले गरेको आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुई वटा ट्रकमा लोड गरेर रकम अन्यत्र लगिएको दाबी गरेका थिए । पूर्व एआईजी सुवेदीको यो आरोप भाइरल बनिरहेको छ । जेनजी प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू (रेणु दाहाल र गंगा दाहाल)को घरमा आगजनी भएको थियो ।