10/13/2025, 02:11:42
आइतबार, असोज २६, २०८२
कान्तारा अध्याय १

दर्शकले सोचेभन्दा फरक ‘कान्तारा अध्याय १’


काठमाडौँ, असोज २६ : कोभिडको समय प्रदर्शनमा आएको चलचित्र ‘कान्तारा’ ले आफनो दैवीय रहस्य र लोकथाका ग्रन्थको कथाले दर्शकको मन जित्न सफल भएको थियो । ऋषभ सेट्टीको लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘कान्तारा अध्याय १’ ले पनि दर्शकको वाहवाही कमाइरहेको छ । अझ कान्तारा अध्याय १ ले दर्शकले सोचेको भन्दा धेरै भिन्न कुरा पस्केको छ । यसको दृश्य सम्पादनदेखि लिएर कथा, सङ्गीत र एक्सनले दर्शकलाई भिन्न संसारमा लिएर जान्छ । सांस्कृतिक, परम्परा र चलचित्रभित्र देखाइएको अनेकन रहस्यमय पक्षले बेग्लै अनुभव दिन्छ ।

चलचित्रको कथा त्यहीँबाट सुरु हुन्छ जहाँ ‘कान्तारा’ को अन्त्य भएको थियो । चलचित्र बाङ्गडाका राजा र कान्ताराका मानिसबिच घट्ने अनेकन उतारचढावको कथामा आधारित छ । बाङ्गडाका राजा कान्तारालाई आफ्नो बनाउन चाहन्छन् । उनले किन कान्तारालाई आफ्नो अधीनमा राख्न खोज्छन् र कसरी कान्ताराका मानिसहरू बाङ्गडासम्म पुग्न कसरी सफल हुन्छन् त ? चलचित्रको कथाभित्र कदम्ब साम्राज्यको यात्रा पनि देखाइएको छ । जहाँ एकातर्फ मधुवनमा भगवान् शिवको मूर्ति राखिएको छ भने अर्कोर्फ राजा विजयेन्द्र (जयराम) का बाङ्गडाको राज्य छ । राजा विजेन्द्रको हजुरबुवाले पनि मधुवनलाई आफ्नो बनाउन चाहनुहुन्छ तर उहाँको मृत्यु हुन्छ ।

कान्तारामा रहने केही साथीले आफनो गाउँलाई बचाइराखेका छन् । उनीहरूको गाउँभन्दा केही पर जङ्गलमा राक्षसहरूको जमात पनि बसेका हुन्छन् । राजा विजेन्द्रले छोरा कुलशेखर (गुलसन देवैया) लाई राजा बनाउँछन् । त्यसपछि चलचित्रको कथामा अनेकन ट्विस्ट आउन सुरु हुन्छ । कुलशेखर कान्तारा गाउँमा धेरै पटक प्रवेश गर्न खोज्छन् तर उनलाई कान्ताराका रक्षक बर्मे (ऋषभ सेट्टी) ले प्रवेश गर्न दिँदैनन् । अन्त्यमा कुलशेखरले कान्ताराका गाउँका मान्छेको हत्या गर्नुका साथै पूरा गाउँ नै जलाइदिन्छन् । यसपछि चलचित्रमा कथाको वास्तविक खेल सुरु हुन्छ ।

चलचित्रको मुख्य आकर्षण भनेकै यसको भिएफएक्स हो । मध्यान्तरअघिसम्म चलचित्रको केही लामा दृश्यले दर्शकलाई हाई काट्न बाध्य बनाउन सक्छ तर मध्यान्तरपछि भने दर्शकले चलचित्र कतिबेला सकिएको हो भन्ने थाहा पाउँदैनन् । चलचित्रका निर्देशक सेट्टी एक्सनदेखि लिएर सांस्कृतिक तथा लोकग्रन्थका कुरालाई समान रूपमा पस्कन सफल हुनुभएको छ । चलचित्रको सिनेम्याटोग्राफी प्रशंसनीय छ । ऋषभ सेट्टी, रुक्मणि वसन्त, गुलसन देवैया, जयरामको अभिनयले चलचित्र बेजोड बनेको छ । रहस्यमय, पौराणिक र लोककथा रुचाउनेका लागि ‘कान्तारा अध्याय १’ सही चलचित्र बन्न सक्छ ।

– सुकृत नेपाल