02/13/2026, 01:50:43
बिहिबार, माघ २९, २०८२

साउथ फिल्महरूमा ‘खलनायक’ बन्दै सञ्जय दत्त र बबी देओल


काठमाडौँ, पुस १३ : पछिल्ला केही वर्षयता बलिउडमा नायकभन्दा खलनायकको चर्चा बढ्दो छ । फिल्म ‘धुरन्धर’ मै पनि रणवीर सिंहको भन्दा बढी चर्चा अक्षय खन्नाको भयो । रहमान डकैतको भूमिका निर्वाह गरेका उनको चरित्रको शैलीलाई लिएर निकै प्रशासा भएको थियो । अब आगामी फिल्महरूमा कुन खलनायकको चर्चा होला त ?

बलिउडका चर्चित अभिनेता संजय दत्त र बबी देओल फेरि साउथ फिल्ममा खलपात्रको भूमिकामा देखिने भएका छन् ।

पोंगल पर्वको अवसर पारेर ९ जनवरी २०२६ मा प्रभास  र थलपति विजय अभिनीत दुई ठूला फिल्म एकै दिन प्रदर्शनमा आउँदैछन् । संयोग के छ भने, दुवै फिल्मका मुख्य खलनायक बलिउडबाट आएका छन् । प्रभासको फिल्म ‘द राजा साब’ मा संजय दत्त र थलपति विजयको ‘जन नायकन’ मा बबी देओल ।

प्रभास अभिनीत तेलुगु हरर–कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्तको भूमिकालाई लिएर चर्चा सुरु भइरहेको छ । टिजरमा उनी दुई फरक अवतारमा प्रस्तुत भएका छन् । ‘केजिएफ २’ मा उनको अभिनयपछि साउथ फिल्ममा सञ्जयको माग बढेको थियो ।

थलपति विजयको ‘जन नायकन’ लाई उनको अन्तिम फिल्मका रूपमा हेरिएको छ । राजनीतिमा प्रवेश गर्ने घोषणापछि यो फिल्मप्रति दर्शकको चासो अझ बढेको छ । बबी देओल यसमा खलनायकको भूमिकामा छन्, तर उनको लुक्स र चरित्रबारे निर्माण पक्षले हालसम्म धेरै खुलासा गरेको छैन ।