10/04/2025, 23:05:05
शनिबार, असोज १८, २०८२

गृह मन्त्रालयद्वारा सीडीओ र सुरक्षा प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन


काठमाडौँ, असोज १८ : गृह मन्त्रालयले जिल्लामा खटिएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सबै सुरक्षा संयन्त्रका प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन दिएको छ ।

प्रतिकूल मौसमी अवस्थालाई ख्याल गर्दै बाढी, पहिरो र डुबानको जोखिममा रहेका जिल्लाको हकमा सबैलाई कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरिएको हो । मन्त्रालयका उपसचिव निशान्तराज गौतमले हस्ताक्षर गरेको परिपत्रमा बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्नसमेत भनिएको छ ।

मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुहरुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउने,’ परिपत्रमा भनिएको छ, ‘राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने । बाटोमा अलपत्र परेका गर्भवती महिलाहरुको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनाअनुसार लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने, बाहिरिने सवारीसाधनको आवतजावत समेत तीन दिनलाई रोकिएको छ । त्यसको अनुगमन र निगरानी गर्नसमेत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।