10/04/2025, 22:55:33
शनिबार, असोज १८, २०८२

अलपत्र यात्रुलाई चितवनको होटलमा बस्न ७५ प्रतिशत छूट


चितवन, असोज १८ : चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ ।

उहाँले होटल व्यवसायीका प्रतिनिधिलाई त्यसरी छुट दिएका यात्रुलाई अन्य यात्रुसरह व्यवहार गर्न पनि निर्देशन दिनुभएको हो । व्यवसायीले त्यसलाई कार्यान्वयन गर्ने बचन दिएका छन् ।

चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उहाँले बताउनुभयो । निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।

होटल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताउनुभयो । उहाँले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताउनुभयो । चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।

यसैगरी, चितवन हुँदै राजधानी काठमाडौँ जाने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शनिवार साँझ बसेको चितवन जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ हुँदै काठमाडौँ जाने सवारी साधन शनिबार साँझ ६ बजेदेखि सञ्चालन रोक लगाएको हो ।

मौसम पूर्वानुमान महाशाखाले गरेको सतर्कतालाई ध्यान दिएर अर्को सूचना प्रकाशित नहुँदासम्म काठमाडौँ जाने यातायात सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनु भयो ।

नारायणगढ मुग्लिन सडक खण्डको तुइनखोलामा आउने पहिरो, मुग्लिन मेलेखु सडकखण्डको विभिन्न स्थानमा आएको पहिरो, बाढीलगायतको उच्च जोखिम भएकाले बन्द गरिएको उहाँले जानकारी दिनु भयो । साथै जिल्ला भएर अन्यत्र जाने सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाएको छ ।