09/12/2025, 19:40:32
शुक्रबार, भदौ २७, २०८२

फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ : नक्खु कारागार प्रशासन


ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ ।

कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका छन् ।

नक्खु कारागार प्रशासनले  सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु (थुनुवा र कैदी)लाई सम्पर्कमा आउन भनेको छ ।यदि नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी प्रशासनले दिएको छ ।

‘अत: विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ, ‘साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा अवगत गराइन्छ ।’


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..