१९ भदौ, काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सूचीकृत हुन नआएका सामाजिक सञ्चाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनको तयारी सुरु गरेको छ । आइस्पानको आज बसेको बैठकले प्राविधिक समितिलाई सक्रिय बनाउँदै भोलि दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि निर्णय कार्यान्वयन गर्ने जनाएको छ ।
‘भोलि बेलुकासम्म सरकारको निर्णय कार्यान्वयन भइसक्छ,’ आइस्पानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘मोबाइल सेवा प्रदायकसहित प्राधिकरणमा भोलि एउटा मिटिङ राख्छौं । कुनचाहिँ विधिअनुसार कति बजेदेखि बन्द गर्ने भन्नेबारे त्यहीँ निर्णय गर्छौँ ।’ उनले सरकारको निर्देशन आफूहरूलाई प्राप्त भइसकेको र यसअघिका अनुभवसमेत राखेर त्यसबारेमा सोचविचार भइरहेको जानकारी दिए ।
‘बन्द गर्ने काम अलि गाह्रै छ, सबैलाई एक-एक गरेर बन्द गर्दै जानुपर्छ,’ पराजुलीले भने, ‘एकैचोटि धेरैवटा बन्द गर्दा सर्भरमा लोड पर्छ, हाम्रो प्राविधिक क्षमतामा पनि भार पर्छ । मुख्य ट्राफिक नै फेसबुक र युट्युबबाट आउने भएकाले बन्द गर्दा लोड पर्छ । भोलिदेखि इन्टरनेट नै चलाउन सकिँदैन ।’