ताप्लेजुङ, मङ्सिर २५ : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताउनुभयो । बिहीबार ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित जिल्लास्तरीय पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता गजुरेलले सो कुरा बताउनुभएको हो ।
जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिसँगै सङ्कटमा परेको राष्ट्रलाई बचाउन साथै समाजवादी क्रान्तिलाई पुरा गर्ने मुख्य उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाएको नेता गजुरेलले बताउनुभयो । समाजवादी मार्गलाई अवलम्बन गरी समाजवादी क्रान्तिलाई पुरा गर्ने सैद्धान्तिक सहमतिसहित तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलले पार्टी एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएको उहाँको भनाइ छ ।
विपक्षी दलहरुले चुनाव जित्ने उद्देश्यले पार्टी एकता गरेका भनेर भ्रम छर्ने र गलत प्रचार गर्ने गरिरहेको बताउँदै उहाँले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने सम्भावना बढेकाले विपक्षीहरु अत्तालिएका बताउनुभयो । पार्टी एकता निर्वाचन जित्नका लागि नभएको प्रस्ट पार्दै उहाँले समाजवादी क्रान्ति पुरा गर्न नेपाली कम्युनिस्ट पार्टी बनाएको र यो पार्टीमा ध्रुवीकृत हुन साथै एकठाउँमा आउन सबै वामपन्थीहरुलाई आह्वानसमेत गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी बनाएर समयसापेक्ष पार्टी, नेतृत्व र नेताहरु सच्चिने प्रयत्न गरिरहेको पनि उहाँले बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिरहँदा केही सच्चिन र रुपान्तरण हुन नचाहाने नेताहरु एकतामा नआएका पनि नेता गजुरेलले बताउनुभयो । उहाँले नेपाली कम्युनिस्ट पार्टी बनेसँगै वामपन्थीहरु ध्रवीकरण हुने क्रम जारी रहेकाले नेकपा पहिलो पार्टी बन्ने सम्भावना नजिक भएर गएको पनि दावी गर्नुभयो । अहिलेको पार्टी एकता विगतकाभन्दा फरक खालको भएकाले नेकपातिर सबै वाम विचार भएकाहरु आकर्षित हुँदै उहाँले बताउनुभयो ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि समाजवादको मार्गलाई अँलाग्ने सैद्धान्तिक सहमतिसहित पार्टी एकता गरिएको बताउनुभयो । बृहत कम्युनिस्ट पार्टी निर्माण गर्नेगरी विभिन्न वाम दलले एकता गरेको बताउँदै राईले नेकपा अब देशको पहिलो पार्टी बन्ने सम्भावना बढेको बताउनुभयो ।
उहाँले नेकपा एमालेभित्र पनि रुपान्तरण चाहानेहरुको ठुलो सङ्ख्या रहेकाले एमालेको अब हुने महाधिवेशनपछि कतिपय नेताहरु नेकपामा समाहित हुनेगरी छलफल भइरहेको बताउनुभयो । केपी शर्मा ओलीको स्वेच्छाचारी र निषेधात्मक प्रवृतिका कारण एमालेभित्र समस्या विकराल बन्दै गएको बताउँदै उहाँले रुपान्तरण र परिवर्तन चाहाने नेताहरु विद्रोह गर्ने मनस्थितिमा रहेका र उनीहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनसक्ने नेता राईको दावी छ ।
अर्को फरक प्रसंगमा नेता राईले वर्तमान कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने अडान पनि कायमै रहेको बताउनुभयो । तत्कालीन एकीकृत समाजवादीले प्रदेश सभामा पहिचानको आधारमा नामाकरण गरिनुपर्छ भन्ने मुद्दा लिएर अघि बढेको र अब नेपाली कम्युनिस्ट पार्टी बनेपछि पनि पहिचानको मुद्दालाई लिएर अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले पहिचानको आधारमा प्रदेशको पुनःनामाङ्कन गर्नेगरी पहल गरिने बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा तत्कालीन माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, खेमबहादुर वनेम, असल पन्दाक लगायतले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्ने अधिकांस वक्ताले नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता र समयको माग भएको बताएका थिए ।
– चन्द्र पन्दाक
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










