काठमाडौँ, माघ २१ गते । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले चुनावी घोषणापत्र राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता एवम् सामाजिक सद्भाव कायम गर्ने मुद्दामा केन्द्रित हुने बताउनुभएको छ ।
एमाले राजधानी प्रदेश समिति र प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा बुधबार काठमाडौँमा आयोजित ‘उपत्यकाका १५ जना उम्मेदवारको सञ्चारकर्मीसँग संवाद कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभयो । एमालेको घोषणापत्र तयारीको क्रममा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “पहिलो कुरा नेकपा (एमाले) ले उठाउने राष्ट्रिय हितको सवाल, स्वाधिनताको सवाल हो । स्वतन्त्रता, स्वाभिमानको सवाल र हाम्रो देशको अखण्डताको सवालमा केन्द्रित भएर हामी आफ्नो विषय उठाउने छौं । ती विषय हाम्रो प्रथम महत्त्वका मुद्दा हुन् भनेर जोड दिन चाहन्छौं ।”
प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–५ का उम्मेदवार समेत रहनुभएका नेता पोखरेलले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकोले मुख्यगरी यही प्रतिबद्धता चुनावी घोषणापत्रमा रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो कुरा सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो । यो सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि कुरा हुन्छ भने एमालेले सहँदैन । त्यसको विपक्षमा आफूलाई उभ्याउँछ र सामाजिक सद्भावलाई कायम गर्ने मुद्दामा हामी केन्द्रित हुने छौं । यो घोषणापत्रले व्यक्त गर्ने प्रतिबद्धताको रूपमा आउने छ ।”

उहाँले जेन-जी आन्दोलनका मुद्दाप्रति विमति नरहेको भन्नुहुँदै क्रान्तिकारी आन्दोलनका गर्भभित्र प्रतिक्रान्तिका जीवाणुहरू रहन सक्नेप्रति सचेत रहनुपर्ने बताउनुभयो । बाहिरी षड्यन्त्र चिर्नका लागि भित्रिरूपमा मजबुत हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “नेकपा (एमाले) एउटा यस्तो शक्ति हो । जसलाई कमजोर बनाउन, यसलाई सिध्याउन अनेक खालका षड्यन्त्रपूर्ण गतिविधि हुने गरेका छन् देखिने, नदेखिने । भित्रका, बाहिरका । तर, हामीले के बुझ्नुपर्छ भने बाहिरी षड्यन्त्र चिर्नका लागि भित्रि रूपमा मजबुत हुनुपर्छ । भित्रि रूपमा कमजोर भइयो भने बाहिरी षड्यन्त्र हाबी हुन्छ । त्यो हाबी हुन दिने पक्षमा हामी छैनौं । हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौं ।”
एमाले सचिव तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–४ का उम्मेदवार डा. राजन भट्टराईले असमान्य परिस्थितिमा अहिले निर्वाचन हुन गइरहेको भन्नहुँदै संवैधानिक बाटोबाट संसद् पुर्नस्थापना हुनुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो ।
डा. भट्टराईले भन्नुभयो, “यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ । जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन।”
एमाले सचिव तथा प्रतिनिधि सभा सदस्यका लागि भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले स्वच्छ र निष्पक्ष निर्वाचन हुनेमा अझै आशङ्का रहेको भन्नुहुँदै आगामी निर्वाचनबाट उपत्यकाको अधिकांश क्षेत्रमा एमालेले जित हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उपत्यकाका प्रत्यक्षतर्फका उम्मेदवाहर सोम मिश्र, चेतनाथ सञ्जेल, प्रेमबहादुर महर्जन, सन्दन थापा, मोहनराज रेग्मी, मणिराम फुँयाल, रामेश्वर फुँयाल, अमन मास्के, प्रकाश श्रेष्ठ, डा. अजयक्रान्ति शाक्य, विनोद श्रेष्ठ लगायतका नेताहरू उपस्थित हुनुभएको थियो ।
एमाले राजधानी प्रदेश समितिका अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












