बुटवल, माघ २१ गते । माओवादी सशस्त्र जनयुद्धको उद्गमस्थल रुकुम र रोल्पालाई मानिन्छ । त्यसैले पनि पूर्वीरुकुममा हरेक निर्वाचन तत्कालीन माओवादीले जित्दै आएको छ । र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ उम्मेदवार बनेर आएका छन् ।
यस पटक यहाँ तत्कालीन सशस्त्र जनयुद्धका कमान्डर प्रचण्डलाई चुनौती दिँदैछन् २८ वर्षीय सन्दीप पुनले । सशस्त्र विद्रोहका बेला आमाबुबा गुमाएका पुन नै यहाँ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनावी मैदानमा छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ पुन र प्रचण्डसहित ११ जना उम्मेदवार भिड्दै छन् । युवा उमेरका उम्मेदवार पुन घरदैलोमा व्यस्त छन् । भूमे गाउँपालिका–६ घर भएका उनलाई हामीले जनयुद्धबाट आएको पार्टी छाडेर किन नयाँ धार बोकेको प्रलोपाबाट उम्मेदवार बन्नुभयो, चुनावी मैदानमा केके चुनौती पाउनुभयो ? लगायत प्रश्न गरेका छौँ ।
- कम उमेरमै प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएको छ, यो कसरी सम्भव भयो ?
–नेपाली माटोमा भएको विद्रोह (जनयुद्ध)मा मेरा बुबाआमाले सहादत प्राप्त गर्नुभएको थियो । मेरा बुबाआमाजस्तै हजारौँ अभिभावकहरूको बलिदान, रगत र पसिनाले बनेको पार्टी र आन्दोलन आज सही दिशामा छैन भन्ने यथार्थले मलाई गहिरो रूपमा छोयो ।
जनयुद्धको आधार क्षेत्र मानिने रुकुमपूर्व आज पनि विकासको मूल प्रवाहमा समुचित रूपमा समावेश हुन सकेको छैन । समृद्ध रुकुमका लागि ठोस पहल गर्नुपर्छ भन्ने दृढ विश्वास, र रुकुमका आमाबुबा, दाजुभाइ–दिदीबहिनी तथा सहिद र बेपत्ता योद्धा परिवारको आशीर्वाद नै उम्मेदवार बन्ने निर्णय गराएको हो ।
म राजनीतिक रूपमा सचेत युवा हुँ । युवाहरू निर्णय गर्न डराए परिवर्तन हुने सम्भावना कम हुन्छ । त्यसकारण मैले निर्वाचनमा जाने निर्णय गरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मैदानमा आएको छु ।
- पूर्वप्रधानमन्त्री पनि मैदानमा हुनुहुन्छ नि ? आँट गर्नुभयो है ?
–यो जिल्ला जनयुद्धको आधार क्षेत्र हो, तर जनयुद्धमा बलिदान दिएकाहरूको सपना पूरा गर्न तत्कालीन माओवादी पार्टीको नेतृत्वले काम गरेन । काम नगर्ने पार्टीमा बस्नुभन्दा नयाँ धारसहित निर्माण भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले समावेशी, युवाका मुद्दा र आधार क्षेत्रका बासिन्दाहरूको सपना पूरा गर्न सक्ने स्पष्ट एजेन्डा बोकेकाले म मैदानमा जाने निर्णय गरेको हुँ ।
अर्कोतिर, देशमा प्रचण्डको जति चर्चा भए पनि यहाँका जनताले दिएको समर्थन र सहयोगका आधारमा उम्मेदवार बनेका हुन् । हिजो बनाउने बेलामा हामीले बनायौँ, तर अहिले हाम्रा एजेन्डा नबोल्ने भएपछि मलाई प्रचण्डसँग चुनाव लड्न कुनै त्रास र समस्या छैन । म सहज रूपमा मैदानमा छु । यहाँका बासिन्दाहरूले मलाई सहयोग गरेका छन् ।
- अन्य उम्मेदवारभन्दा तपाईंका एजेन्डा कति फरक छन् ?
–हाम्रो पार्टी नयाँ हो । तर यहाँका जनताले परम्परागत नेताहरूका एजेन्डा प्रायः चुनाव जित्ने र चुनावदेखि चुनावसम्म मात्र सीमित रहने गरेको पाएका छन्, जसबाट आज आम जनता दिक्क भइसकेका छन् । पछिल्लो समय उठेको जेनजी आन्दोलनले परम्परागत पार्टी र नेताहरूको अस्तित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
मेरा एजेन्डा रुकुमेली जनताको भविष्य र सहिदको सपनासँग जोडिएका छन् । म युवाको आवाजलाई नारा होइन, नीतिमा रूपान्तरण गर्न चाहन्छु । युवा शक्तिलाई समाज रूपान्तरणको अग्रपङ्क्तिमा उभ्याउँदै, स्वरोजगारका अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्नु मेरो मुख्य लक्ष्य हो । म अरूलाई गाली गरेर भन्दा यहाँका जनताका लागि उपयोगी विकास निर्माणका काममा जोडिएर जान्छु ।
- अहिले निर्वाचनमा युवा उम्मेदवार धेरै छन् । तर युवाहरूले राजनीति केवल नारा भएको आरोप लाग्ने गरेको छ नि ?
–हो, विगतको निर्वाचनभन्दा अहिले धेरै युवा निर्वाचनको मैदानमा छन् । त्यसका पछाडि विभिन्न कारणहरू छन् । युवा शक्ति देशको मेरुदण्ड हो । राजनीतिक चेतनासहितको युवा शक्तिले मात्र समृद्ध नेपालको आकांक्षा पूरा गर्न सक्छ । तर दुर्भाग्य, आजसम्म नेपाली राजनीतिमा युवालाई प्रयोग मात्र गरिएको छ । परम्परागत दलहरूले युवा–विद्यार्थीलाई हेर्ने दृष्टिकोणमाथि जेनजी विद्रोहले गहिरो धक्का दिएको छ, यही विद्रोहले उठाएका रूपान्तरणका एजेन्डालाई मूर्तरूप दिन मेरो उम्मेदवारी हो ।
- तपाईं निर्वाचित भएपछि पहिलो वर्षभित्र लागु गर्न सक्ने मुख्य कार्यक्रमहरू के–के हुन् ?
–म रुकुमपूर्वमा जन्मिएको युवा हुँ । मैले ग्रामीण, सहरी तथा अन्य क्षेत्रका युवाका समस्या र अवसरहरूलाई नजिकबाट नियालेको छु । म ठुला सपना देखाएर पूरा नहुने आश्वासन बाँड्दिनँ । राजनीतिज्ञको भनाइ र व्यवहारबिच स्पष्ट एकरूपता हुनुपर्छ भन्ने मेरो दृढ मान्यता हो ।
मेरो प्राथमिक चासो रुकुमेली जनताको दैनिकी कसरी सहज, सम्मानजनक र समृद्ध बनाउने भन्नेमा केन्द्रित छ । रुकुम पर्यटनको अपार सम्भावना बोकेको जिल्ला हो । यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूको योजनाबद्ध प्रवद्र्धन गर्दै त्यसलाई रोजगारीसँग जोड्न सकिन्छ । यसले युवालाई जिल्ला बाहिर होइन, आफ्नै ठाउँमा दिगो रोजगारी सिर्जना गर्ने आधार तयार गर्छ ।
अब रूपान्तरणका लागि युवा शक्ति एकताबद्ध हुनु अपरिहार्य छ । यो पार्टी वा त्यो पार्टीभन्दा माथि उठेर साझा एजेन्डामा केन्द्रित हुने समय आएको छ, रुकुमको समृद्धि हाम्रो साझा सङ्कल्प हो ।
- खासगरी युवा बेरोजगारी र बिदेसिने बाध्यतालाई रोक्न के योजनाहरू छन् ?
–रुकुमको प्रमुख समस्या बेरोजगारी हो । यसको दिगो समाधानका लागि जिल्लाभित्रै रोजगारी सिर्जना अनिवार्य छ । यहाँका मौलिक उत्पादनहरूको प्रभावकारी बजारीकरण, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको योजनाबद्ध विकास र जलविद्युत् जस्ता दीर्घकालीन उत्पादनमूलक क्षेत्रमा स्थानीय लगानी, स्वामित्व र सहभागिता सुनिश्चित गर्नुपर्छ । जिल्लाका स्रोत–साधनबाट सिर्जित लाभ बाहिर नजाओस्, स्थानीयमै रोजगारी र समृद्धि फर्कियोस् भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो । हाम्रो क्षेत्रमा गुणस्तरीय शिक्षाको अभाव पनि छ । युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । धेरैले ठुलो ऋण बोकेर अवैध बाटो हुँदै युरोप र अमेरिकातर्फ जानुपरेको छ । यसले युवाको भविष्य मात्र होइन, परिवार र समाजलाई पनि सङ्कटमा पारेको छ । समाधानका लागि जिल्लाभित्रै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र स्थानीय स्रोतमा आधारित रोजगारी अपरिहार्य छ, म त्यसैतर्फ केन्द्रित हुन्छु ।
- पुराना दलहरू छाडेर यो पार्टीमा लाग्नुको खास कारणचाहिँ के हो ?
–हिजो मेरा बुबाआमा र हजारौँ योद्धाहरूको बलिदानले बनेको आन्दोलन केही नेताको स्वार्थका कारण धराशायी हुँदै गएको देख्दा गहिरो पीडा महसुस भयो । परम्परागत पार्टीहरू अस्तित्व जोगाउने सङ्घर्षमा सीमित छन् भने नयाँ भनिएका केही दलहरू केवल आक्रोशमै अड्किएका छन् । यस्तो अवस्थामा यथास्थितिवादको बन्धक बन्नुभन्दा वैचारिक स्पष्टता र प्रगतिशील रूपान्तरणको लक्ष्य बोकेको प्रलोपाको निर्माण प्रक्रियामा सचेत रूपमा सहभागी भएको हुँ । अब यो पार्टीबाट हामीले रुकुमपूर्व र मुलुकमा नयाँ सन्देश दिने काम गर्नेछौँ ।
- तपाईं पुस्तान्तरणको पक्षधर हो ?
–म जेनजी पुस्ताको प्रतिनिधि हुँ । आज उठेको रूपान्तरणको बहस कुनै फेसन होइन, यो समयको माग हो । पुराना सोच, उही अनुहार र बन्द निर्णय प्रक्रियाबाट देश अगाडि बढ्दैन । जेनजीले अब नाराभन्दा परिवर्तन, भाषणभन्दा काम र अधिकारभन्दा जवाफदेहिता खोजिरहेको छ । नेपाल आज भ्रष्टाचार, बेथिति र शक्ति दुरुपयोगविरुद्ध उठेको जनविद्रोहको मैदान बनेको छ । ठुला भनाउँदाहरूको विलासी जीवनशैलीले जनता दिक्क भइसकेका छन् । अब खोक्रा भाषण र बहाना स्वीकार्य छैन । जनताको स्पष्ट माग सुशासन हो र सुशासन ल्याउन हदैसम्मको कठोरता अपरिहार्य छ । संसद्मा पुगेपछि म युवाको आवाज स्वयं बनेर बोल्नेछु । युवासँग निरन्तर संवाद, प्रत्यक्ष सहभागिता र पारदर्शी निर्णय प्रक्रियामार्फत नीति निर्माणमा युवाको प्रभाव सुनिश्चित गर्नेछु । युवा मुद्दा मेरो प्राथमिकता मात्र होइन, राजनीतिक दायित्व हो ।
- मतदातालाई केही सन्देश ?
–म व्यक्तिसँग होइन, प्रवृत्तिसँग चुनाव लड्दै छु । मेरो शक्ति पैसामा होइन, सत्य र जनताको भरोसामा आधारित छ । सत्य, पारदर्शिता र जनताको पक्षमा अडिग रहँदै मात्रै दिगो परिवर्तन सम्भव छ । नारामा होइन, निर्णयमा युवा चाहिन्छ । अब भविष्य अरूले होइन, हामी आफैँले बनाउने समय आएको छ । यहाँका जनताका समस्या समाधान गर्ने स्पष्ट खाकासहित आएको छु ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












