काठमाडौँ, माघ २१ गते । १८ कात्तिकमा तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले प्रगतिशील अभियान घोषणा गरेका थिए । पछि यही समूहले जनता समाजवादी (नयाँ शक्ति)सँग एकता गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरे ।
७ मंसिरमा पाँच सदस्यीय अध्यक्ष परिषद्सहित पार्टी एकता भयो । पार्टीमा अध्यक्ष परिषद्मा जेन–जी, महिला, मधेशी दलित जनजाति छन् । यो पार्टी एकता जुन चमकधमकका साथ भएको थियो, त्यो लामो समय टिक्न सकेन । २१ फागुनको चुनावका लागि उम्मेदवारका दाबेदारहरू नै प्रलोपा त्यागेर अन्य पार्टीबाट उम्मेदवार बने ।
तीमध्ये अछाम १ बाट प्रलोपाका दीपक साउद एमालेबाट उम्मेदवार बनेका छन् । सुदूरपश्चिम प्रदेशबाट तत्कालीन माओवादीबाट प्रलोपातर्फ लाग्ने केन्द्रीय सदस्यमध्ये एक थिए साउद । प्रलोपाले साउदलाई सुरुमा टिकट दिएको थियो । तर, टिकट बाटैमा छोडेर उनी एमाले प्रवेश गरेको प्रलोपाका केन्द्रीय सदस्य रामबहादुर देवकर बताउँछन् । उनले भने, ‘सुदूरपश्चिममा संगठन थिएन । अछाममा दीपकजीलाई टिकट दिएको थियो । तर, कुनै सरसल्लाह नै नगरी एमाले प्रवेश गर्नुभयो । एमालेबाट टिकट लिएर चुनावी मैदानमा हुनुहुन्छ ।’
उनी मात्रै होइन, गण्डकी प्रदेशका सहइन्चार्ज विमल अधिकारी असहमतिपत्र पार्टी कार्यालयमा बुझाएर तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका लागि भोट मागिरहेका छन् । गण्डकीका अधिकांश जिल्लाहरूमा पार्टीका नेताहरू निष्क्रिय रहेको अधिकारी बताउँछन् । उनले भने, ‘मैले पार्टीमा अहसमतिपत्र बुझाएको छु । गण्डकी प्रदेशका तनहुँ, पर्वत, लमजुङ, मुस्ताङ र मनाङका जिल्ला अध्यक्षहरू निष्क्रिय भएर बसेका छन् ।’
माओवादीबाट छुट्टिँदा जति उत्साह थियो, त्यो नेताहरूका कारण नै शिथिल मात्र होइन, विघटनतिरै गएको अधिकारी बताउँछन् । उनले भने, ‘वामपन्थी पार्टी बनाउने भनेर अलग भएका हौँ । तर, जनार्दनको आफ्नै ताल, बाबुराम भट्टराईको आफ्नै ताल र सुदन किराँतीको आफ्नै तालका कारण पार्टी विघटनतर्फ जाने भयो ।’
प्रलोपाका पर्वत अध्यक्ष रमेश पौडेल आफूहरू अहिले माैन बसेको बताउँछन् । उनले भने, ‘विधिविधानमा चल्छु । पार्टी चलाउँछु भन्नेहरूले नै विधिविधान मिचेर उम्मेदवारी फिर्ता लिएपछि हामी तलका कार्यकर्ताले कसको विश्वास गर्नु ? नेतृत्व गर्छु भन्ने नै खराब भएपछि पार्टीमा निष्क्रियता बढ्नु स्वाभाविक हो ।’
प्रलोपाका मुख्य नेताहरू नै तीनतिर विभाजित भएको नेता कार्यकर्ता बताउँछन् । जनार्दन शर्माले आफू जित्नका लागि मात्र एमालेसँग पश्चिम रुकुममा गठबन्धन गरेका छन् । शर्माले आफूलाई केन्द्रमा राखेर एमालेसँग गठबन्धन गरेका तर अरु क्षेत्रका उम्मेदवारका बारेमा कुनै चासो नदिएको प्रलोपाका एक उम्मेदवार बताउँछन् । ती उम्मेदवारले भने, ‘यहाँ त नेताहरूले कसैका बारेमा पनि सोच्नु भएन । जनार्दनले आफ्ना लागि एमालेसँग गठबन्धन गरे । बाबुरामले बाटैमा उम्मेदवारी फिर्ता लिए । सुदन किराँती हर्क साम्पाङका लागि हिँड्नुभयो । अनि प्रलोपाका उम्मेदवारका लागि को हिँड्ने ? नेताहरू नै यस्ता भएपछि पार्टी कसरी बन्छ ?’
प्रलोपाको कोशी प्रदेशमा चार जना उम्मेदवार उठाएको छ । उसले आफ्नो उम्मेदवार जिताउनभन्दा पनि कांग्रेस, एमाले र नेकपाका उम्मेदवारलाई हराउन श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने नीति लिएको छ । प्रलोपाका नेता कार्यकर्ताहरूले आफ्नो उम्मेदवारलाई भन्दा पनि हर्क साम्पाङका उम्मेदवारलाई सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् ।
प्रलोपाका केन्द्रीय सदस्य हेमन्त राई भन्छन्, ‘हामीले जित्ने सम्भावना कम छ । त्यही भएर हर्क साम्पाङका उम्मेदवारलाई सहयोग गरिरहेका छौँ । हाम्रो सहयोगले कांग्रेस, एमाले र नेकपाका उम्मेदवार हार्ने र हर्कका उम्मेदवारले जित्ने हुन्छ । हामी कोशी प्रदेशको सापेक्षतामा चलिरहेका छौँ ।’
कमसेकम अध्यक्ष परिषद्का पाँच जनाले चुनाव लड्नुपर्ने भए पनि त्यसो हुन नसकेको केन्द्रीय सदस्य बद्री चुडाल बताउँछन् । उनले भने, ‘भरखर पार्टी गठन भएको थियो । शीर्ष नेतृत्व चुनाव लडेको भए जनस्तरमा पार्टी स्थापित हुन्थ्यो । नेतृत्व चुनाव नलडेर बस्नु पनि हारेजस्तै हो । त्योभन्दा चुनाव लडेको भए पार्टी स्थापित हुन्थ्यो । चर्चा परिचर्चा हुन्थ्यो ।’
कोशी प्रदेशका चार निर्वाचन क्षेत्रमध्ये मोरङ ५ मा राजेन्द्र मण्डल, सुनसरी २ मा ताजिना विष्ट, ३ मा प्रमोद पौडेल र पाँचथरमा प्रकाश काफ्ले उम्मेदवार छन् । आफ्नो उम्मेदवारले जित्ने अवस्था नहुँदा जित्ने उम्मेदवारको प्रचार गर्ने नीतिअनुसार नै प्रचारप्रसार भइरहेको प्रलोपाका कोशी प्रदेश अध्यक्ष परिषद्का सदस्य मदन भट्टराई बताउँछन् । उनले भने, ‘आफ्नो पार्टीका चार जना उम्मेदवार हुनुहुन्छ । अरु क्षेत्रमा विशेष गरेर सुनसरी १, खोटाङ र भोजपुरमा श्रम संस्कृति पार्टीलाई सघाउँछौँ । यो हाम्रो घोषित नीति नै हो ।’
प्रलोपाले देशभरिका ९२ क्षेत्रमा उम्मेदवारी दर्ता गरे पनि पछि ६ जनाले उम्मेदवारी निष्क्रिय बनाएका छन् । गोरखा क्षेत्र नंं १ बाट बाबुराम भट्टराईले अन्तिममा उम्मेदवारी फिर्ता लिए । २ नं. क्षेत्रबाट पनि उम्मेदवारी फिर्ता गराए । सिन्धुली र नुवाकोटमा उम्मेदवारको समस्याका कारण उम्मेदवारी निर्वाचन आयोगले नै खारेज गरिदिएको थियो । सल्यान र कालीकोटबाट पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
जनार्दनको गृहप्रदेश कर्णालीमा नै उम्मेदवारी फिर्ता भएका छन् । भट्टराईले पनि आफ्नो गृहजिल्लामा उम्मेदवारी फिर्ता गराए । प्रलोपाका नेता कार्यकर्ता अहिले सबैभन्दा बढी रुष्ट भट्टराईसँग बनेका छन् ।
विधिको शासन स्थापित गर्छु, देशको नेतृत्व गर्छु भन्ने भट्टराईले सबैभन्दा बढी गुमराहमा पारेको एक नेता बताउँछन् । ती नेताले भने, ‘उधारोमा सम्झौता गरेर दुवै क्षेत्रबाट उम्मेदवारी फिर्ता लिनुभयो । भन्दाखेरी देशको नेतृत्व गर्छु भन्नुहुन्छ । एक निर्वाचन क्षेत्रको पनि जिम्मा लिन सक्नु भएन ।’
शर्माले वामपन्थी पार्टी बनाउने भनेर सुरुमा नेत्रविक्रम चन्द र घनश्याम भुसालसँग छलफल चलाएका थिए । तर, बाबुरामसँग छलफल चलाएपछि रास्वपाका केही नेताहरूसँग छलफल गरेर सन्तोष परियारलाई पार्टीमा ल्याए । माओवादी नाम र गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिने भनेको त्यत्तिकै छोडेर हिँडेको आरोप अहिले पनि नेता कार्यकर्ता लगाइरहेका छन् ।
प्रलोपाका नेता अनिल शर्मा आफ्नो पार्टीभित्र कुनै मत भेद नभएको बताउँछन् । उनले भने, ‘पार्टीमा कुनै मतभेद छैन । हामीहरू सबै चुनावमा खटेका छौँ । केही ठाउँमा अलिकति छलफल पुगेन कि भन्ने छ । अरु जहाँ सकिन्छ, जित्ने भन्ने छ । पार्टी यो चुनावबाट स्थापित हुन्छ ।’
प्रलोपामा सबैभन्दा बढी गुनासो र असन्तुष्टि वामपन्थी पार्टी बनाउने भनेर नबनाएको र बनाउन पनि पहल नगरेकोमा छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












