12/11/2025, 18:34:08
बिहिबार, मङि्सर २५, २०८२

हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने


काठमाडौँ,मङ्सिर २५ गते । बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारीबीच होटेल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ ।

२४ भदौमा जेन जेड आन्दोलनका क्रममा होटेलमा तोडफोड, आगजनी र लुटपाट भएपछि अहिले बन्द छ । होटेल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटेल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको हो ।

‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठुलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटेल सञ्चालन हुने अवस्था छैन’ होटेल व्यवस्थापनले एक विज्ञप्तिमार्फत भनेको छ ।

सहमतिअनुसार होटेलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने छ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । होटेल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ ।

मर्मत-सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटेलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकको दाबी छ ।

सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटेलले बताएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..