काठमाडौँ, मङ्सिर २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । किताब जात्राको सातौँ संकरणको बिहीबार उद्घाटन गर्दै उहाँले शिक्षित नेपाल निर्माणका लागि शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
सञ्चारमन्त्री खरेलले सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“शिक्षा भन्दा संसारमा केही पनि छैन, शिक्षा नै अध्यारो हटाउने ज्योति हो । त्यसैले शिक्षाबाट बञ्चित आज पनि जति बालबालिका छन् सबैले कामना गरौँ, सबै बालबालिका विद्यालय गएर राम्रोसँग अध्ययन गर्न पाउछन्।”
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि सरकार लागि परेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“हामी अहिले संवदेनशील समयमा सरकारमा सहभागी भएका छौँ । मुलुकलाई एउटा परिवर्तनको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी र दायित्त्व हामी सबैको काँधमा छ, यसलाई पुरा गर्न सबै लागौँ ।”
किताब जात्राका निर्देशक ऋषिराज अधिकारीले पठन संस्कृतिको विकाससँगै नागरिकलाई शिक्षाप्रति जागरण फैलाउने उद्देश्यले किताब जात्रा गर्दै आएको बताउनुभयो । दुई दिने कार्यक्रममा पुस्तक प्रदर्शनीका साथै विभिन्न प्राज्ञिक शत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














