कलुवापुर, कञ्चनपुर, २५ मङ्सिर — जग्गा हड्प्ने दाउमा केहीबेरमै डेढ सय बढी रुख काटिएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वन उजाड बनेको छ ।
करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको वनभित्र रहेका सिसौं, खयर र कञ्जुका सयौं रुख ‘फिल्मी शैली’मा फँडानी भएका हुन् । अहिले वनको किनारतिर कहीँकतै मात्र रुख देख्न सकिन्छ । चारैतिर ग्राभेल सडकको बीचमा रहेको उक्त सामुदायिक वनमा स्थापनाकालदेखि नै रुख काटिने क्रम जारी थियो । बेवारिसे जस्तै रहेको यो सामुदायिक वनमा विगतदेखि नै विवाह, ब्रतबन्धदेखि दाहसंस्कार र वनभोज जान पनि यहीँ वनबाट दाउरा लैजाने गरिन्थ्यो ।
मंसिर ११ गते मध्यान्ह सामुदायिक वनका सयौं रुख एक/डेढ घण्टामै सखाप गरिएको हो । स्थानीयले धमाधम रुख काटेर लगे, केही वनमै छाडे । यो सबै एक/डेढ घण्टामै फिल्मी शैलीमा भएको थियो । अहिले उक्त सामुदायिक वन बाँझो जमिन जस्तै देखिएको छ । उसो त सामुदायिक वनमा वडा कार्यालय निर्माण हुँदा होस् वा निर्माणाधीन अवस्थामा रहेको आधारभूत स्वास्थ्य चौकी निर्माण गरिँदा सामुदायिक वनका पदाधिकारीलाई कुनै जानकारी छैन । न उपभोक्ता समितिले नै यस्ता निर्माण कार्यबारे चासो राखे ।
सामुदायिक वनसँग भौतिक निर्माणका विषयमा जनप्रतिनिधिले पनि सोधपुछ गर्नुपर्ने आवश्यक ठानेनन् । ‘यो वन विगतदेखि यस्तै थियो, एक/दुई रुख प्रायः काटिने गरेकै हो, मर्दापर्दा जतिबेला पनि सबैले यहीँ वनबाट रुख काटेर दाउरा लैजाने गर्थे,’ गौरीघाट सामुदायिक वन उपभोक्ता समितिका सचिव राजेन्द्र अवस्थीले भने, ‘समिति दुई/तीन वर्षदेखि निष्क्रिय थियो, बैठक पनि बसेको थिएन, वन बेवारिसे जस्तै थियो ।’ उनका अनुसार अहिले रुख कसले काटेर लग्यो भन्ने विषयमा केही जानकारी छैन ।
सामुदायिक वनकी अध्यक्ष कुमारी बोहोराले पनि रुख फँडानीबारे केही जानकारी नभएको बताइन् । उनले उक्त दिन बिहानै घरबाट धनगढी गएको र साँझ फर्किँदा वन फँडानी भएको देखेको बताइन् । ‘कसले किन काट्यो, केही थाहा भएन, हामी पनि मान्छे खोजिरहेका छौं,’ बोहोराले भनिन्, ‘अहिलेसम्म केही पत्तो लागेको छैन ।’
बस्तीको बीचमा रहेको सामुदायिक वनबाट दिउँसै धमाधम रुख काटिँदा समेत सामुदायिक वनका पदाधिकारीदेखि वन कार्यालयका कर्मचारी र जनप्रतिनिधिले समेत थाहा नपाउनु रहस्यमय देखिएको छ । वडा ७ को कार्यालय त झन् सामुदायिक वनकै हाताभित्र छ ।

आसपास रहेका सवडिभिजन वन कार्यालयका कर्मचारी पनि यसबारे बेखबर बने । उनीहरुले त वन फँडानी भएको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै थाहा पाए । ‘भोलीपल्ट प्रहरीले खबर गरेपछि मात्रै हाम्लीे थाहा पाएर फिल्ड अनुगमन गरेका छौं,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले भने, ‘जनप्रतिनिधिदेखि स्थानीय सबैको मिलेमतो जस्तो देखिन्छ, यदि होइन भने वडा कार्यालय छेउमै भएको वन फँडानीबारे किन जनप्रतिनिध चुप बसे ?’ उनले सामुदायिक वनको जमिन हत्याउन स्थानीयदेखि जनप्रतिनिधि सबैको मिलेमतोमा वन फँडानी भएको आरोप लगाए ।
डिभिजन वन कार्यालयले सवडिभिजन वन कार्यालय बाणीका प्रमुख वन अधिकृत भरत शाहलाई अनुसन्धान अधिकृत तोकेको छ । शाहले कटान भएका रुखको संख्यादेखि केही काठ बरामद गर्ने र सामुदायिक वनका पदाधिकारीको बयान लिने लगायका काम गरिरहेको बताए । ‘सामुदायिक वनका अध्यक्ष र सचिवको बयान लिने काम भएको छ, अरुको पनि जारी छ,’ शाहले भने, ‘कटान भएको केही काठ पनि बरामद भएको छ ।’ शाहका अनुसार १६ देखि ८४ इन्च मोटाइसम्मका खयरका १ सय ३५, २४ इन्चदेखि ६४ इन्च मोटाइ भएका सिसौंका २८ र कञ्जुको १ गरेर १ सय ६४ रुख कटान भएका छन् ।
शाहका अनुसार ६१ गोलिया खयर १ सय १ दशमलव ५५ क्यूफिट र ४१ गोलिया सिसौं ८१ दशमलव ०३ क्यूफिट सिसौंको काठ समेत बरामद गरिएको छ । अन्य काठको पनि खोजी भइरहेको छ । ‘काठ भन्दा पनि साुमदायिक वनको जमिन हत्याउने प्रपञ्च जस्तो देखिन्छ, धेरै कुरा अनुसन्धानबाट खुल्दै जाला,’ शाहले भने, ‘अहिले पनि गाउँमा वन फँडानीबारे कसैले बोल्न मानेका छैनन्, सामुदायिक वनका पदाधिकारी सदस्य समेत यस विषयमा बोल्न नमानेको उनले बताए ।

मोहना नदी किनारको बगरमा २०५५ मा स्थानीयले नै बृक्षारोपण गरेर वन हुर्काएका हुन् । त्यसफछि बेलाबेलामा सुकुम्बासी र मुक्त कमैयाका नाममा वन अतित्रमणको प्रयास हुँदा स्थानीयले नै उनीहरुलाई लखेटेका थिए । २०६२ मा उक्त वन दर्ता भएर समुदायलाई हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७५/०७६ मा सामुदायिक वनको पहिलो कार्ययोजना निर्माण भएको छ ।
अहिले रहेको समितिले ३ वर्षको अवधिमा एउटा बैठक वा साधारण सभा समेत गरेको छैन । त्यसअघिको समिति पनि निष्क्रिय जस्तै रहेको स्थानीय बताउँछन् । पछिल्लो पटक उक्त क्षेत्रमा करिब डेढ अर्ब लगानीमा प्राविधिक कलेज खोल्ने तयारी भइरहेको छ । कृष्णपुर नगरपालिकाले यस विषयमा पटकपटक अध्ययन र अनुगमन समेत गरिसकेको छ । प्राविधिक कलेज स्थापना हुने भएपछि जमिनको मूल्य बढ्ने देखेर समेत भूमाफियाहरुले वन फँडानी गरेर जमिन हत्याउन प्रपञ्च रचेको हुन सक्ने वनकर्मीहरु बताउँछन् ।
राजनीतिक संक्रमणका बेला प्रायःजसो वन फँडानीका घटना हुने गरेका छन् । यसअघि डडेलधुरा र कञ्चनपुरका सीमामा पर्ने चुरे फँडानी र कैलालीको डुँडेझारीमा वन अतिक्रमणको प्रयास पनि राजनीतिक संक्रमणकै बेला भएको थियो । पछिल्लो पटक गौरीघाटको वन फँडानीमा पनि बिचौलियाले मौका छोपेको हुन सक्ने वनकर्मीको अनुमान छ ।
– चित्रांग थापा र भवानी भट्ट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














