12/11/2025, 21:43:15
बिहिबार, मङि्सर २५, २०८२

जेन-जी सहिद दीपकका बुवा भन्छन्– ‘सान्त्वना दिन न सरकारका आए, न पार्टीका’


बैतडी, मङ्सिर २५ : जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शर्मालीस्थित मडैगाउँका कालु र लक्ष्मी साउँद दम्पतीका आँखा तीन महिनादेखि ओभाएका छैनन् ।

१२ कक्षा पास गरेर पढाइसँगै वैदेशिक रोगजारीको तयारी गर्ने योजना बनाएर हिँडेको १९ वर्षको छोरा दीपक साउँदको गत भदौ २४ को जेन-जी आन्दोलनमा गोली लागेर मृत्यु भयो । परिवार धान्ने भरोसा गरेको छोरा गुमाएका साउँद दम्पतीले त्यसयता धेरै दिन भोकै र रात अनिँदा बिताए ।

सरकारले सहिद घोषणा गरेर राहत उपलब्ध गराए पनि सान्त्वना दिन समेत घरमा कोही नआएको साउँद दम्पतीको गुनासो छ । २०६२ माघ ४ मा जन्मिएका दीपक मडैगाउँमै हुर्किएर १२ कक्षाको पढाइ सके । काठमाडौंको कीर्तिपुरमा साथीहरुसँगै डेरामा बसेर कोरियन भाषा सिकिरहेका उनी भदौ २३ मा भएकाे जेन-जी आन्दाेलनमा सहभागी भएका थिए । भाेलिपल्ट बिहानै प्रदर्शन चर्किएपछि बिहानै साथीहरुसँग काेठाबाट हिँडेका उनलाई काठमाडौंको कालीमाटीमा पुग्दा टाउकोमा गोली लागेकाे थियाे । गाेलीले त्यहीँ ढलेका उनको मृत्यु प्रमाणित भने भदाै २७ गते भयो ।

आन्दोलनमा १९ वर्षीय छोरा गुमाएका दीपकका बुबा कालु र आमा लक्ष्मी साउँदका आँखा अझै ओभाएका छैनन् । केही गरेर मात्रै फर्किन्छु भनेको छोराको टाउकोमा गोली लागेको खबर सुनेको तीन महिना पुग्न लाग्दा समेत लक्ष्मीका आँशु थामिएका छैनन् ।

कालुलाई छोरा गुमाएको पीडासँगै सरकार र पार्टीका कसैले वास्ता नगर्दा झन् दुःख लागेको छ । मृतक दीपकका बुबा एमाले कार्यकर्ता हुन् । ‘मेरो घाउमा मलम लगाउन न सरकारका कोही आए न वर्षौंदेखि सदस्यता लिएको र भोट हालेको पार्टीका नेताकार्यकर्ता कोही आए,’  उनले भने, ‘सरकारले राहात रकम पनि बैंकमार्फत पठाइदियो । भेट्न नआएर एक कल फोन गरिदिएको भए पनि चित्त बुझाउँथे ।

व्यक्तिगत काम छाडेर सत्रिय भएको समेत दुःख पर्दा पार्टीका कसैले नसम्झिएको उनको गुनासो छ । ‘आफ्नो काम छाडेर नेताहरुको सेवाचाकरी गरे । घरको काम नगरी कार्यक्रम, बैठक र प्रचारमा गए आज देशको लागि छोरा गुमाउँदा पार्टीका नेताले आउन नसके पनि एक कल फोनसम्म गरेनन्,’  उनले भने,  ‘दुःख पर्दा पार्टी र नेता काम लाग्लान् भनेको त एक कलसम्म पनि गर्न भ्याएनन् ।

पाँच दाजुभाई मध्ये माइला दीपकलाई उनले मजदुरी गरेर कक्षा १२ सम्म पढाएका थिए । अरु छोराले पढ्न नसकेकाले दीपकप्रति परिवारको बढी आशा थियो । ‘कल्पनै नगरेको अप्रिय घटनाले आफुलाई घरीघरी रुवाइरहन्छ,’ आमा लक्ष्मीले भने, ‘दीपकका उमेरका अरुलाई देख्दा त समाल्न सकिँदैन ।

दीपक स्थानीय नागार्जुन माविमा बाली विज्ञानमा १२ कक्षा सकेर कोरिया जान भाषा सिक्न ऋण काँढेर डेढ महिनाअघि मात्रै राजधानी हिँडेका थिए । परिवारको भविष्य सुधार्ने सपना बोक्दै ऋण काँढेर राजधानी गएका दीपकले अन्तिमपल्ट रोजगारीका लागि भारतको मुम्बईमा रहेका दाईसँग कोरियन भाषा सिक्न मोबाइल किन्न पैंसा मागेका थिए । दाईले पठाएको पैसाले पनि नपुगेपछि दीपकले किस्ताबन्दीमा किनेको मोबाइल दाईसँगै छ । परिवारलाई नै ढाडस दिइरहने भाई सहिद भएपछि मुम्बइबाट घर फर्केका दाई परिवार सम्झाउनमै छन् ।

मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बैतडीका दीपकलाई पनि सहिद सूचीमा छन् ।

गत भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहात दिने निर्णय गरेको थियो । दीपकको परिवारले पनि सरकारले दिने भनेको रकम पाइसकेको छ । देशमा शान्ति, सुशासन र भ्रष्टाचार अन्त भएमात्र छोराकाे बलिदानीकाे अर्थ हुने कालुले बताए ।

– मोहन चन्द