12/11/2025, 22:10:54
बिहिबार, मङि्सर २५, २०८२

भजनी : जहाँ १२ गाउँका किसान वर्षेनि श्रमदानमा २० किलाेमिटर कुलो सफाई गर्छन्


भजनी, कैलाली, मङ्सिर २५ : बिहान १० बज्नै लाग्दा कैलालीको भजनीका हरेक घरबाट एक–एक जना कोदालो लिएर निस्किए । अघिल्लो दिननै उनीहरुले भोलिपल्ट भेला हुने ठाउँ तय गरिसकेका थिए ।

कोही काँधमा कोही हातमा कोदालो बोकेर निस्किएका १२ वटा गाउँका चार सय परिवारका एक/एक जना कुलो सरसफाईका लागि भेला भएका हुन् । आफ्नो खेतबारीमा सिँचाइका लागि थारु समुदायका बस्तीका बासिन्दाले हरेक वर्ष यसैगरी श्रमदानमा कुलो सफाइ गर्दै आएका छन् ।

करिब २० किलोमिटर लामो गौनैया सिँचाइ कुलोले भजनी नगरपालिकाका १, २ र ३ वडाका ४ सय परिवारको खेत सिँचाइ हुने गरेको छ । यतिबेला तराईमा गहुँ बालीमा सिँचाइ गर्ने समय भएकाले स्थानीय कुलो सफाईका लागि श्रमदान गरिरहेका हुन् ।

थारु समुदायका प्रायः घरका पुरुष कामको खोजीमा घरबाहिर छन् । कुलो सफाइ गर्ने श्रमदानमा पनि महिलाको संख्या बढी हुने गरेको छ । पुस्तौंदेखि सञ्चालन हुँदै आएको कुलो बर्खामा बाढी र कटानले क्षति हुने गरेको छ । गहुँमा पानी लगाउन उनीहरु हरेक वर्ष कुलो मर्मतका लागि यसैगरी जुट्ने गरेका छन् ।

थारु समुदायमा अहिले पनि सामूहिक रुपमा काम गर्ने चलन छ । भजनी–१, २ र ३ नम्बर वडाका किसानका खेतमा सिँचाइ हुने गौनैया कुलोको लम्बाई भण्डै २० किलोमिटर लामो कुलोको मुहान काँडा नदी हाे । ०४८ सालमा पक्की बाँध निर्माण गरिएपछि उनीहरुले काँडा नदीस्थित मुहानमा श्रमदान गर्नुपरेको छैन ।

बाँध पक्की भए पनि त्यस अगाडि गाउँगाउँ पुग्ने कुलो अहिले पनि कच्ची छ । त्यसको मर्मत र सफाईका लागि उनीहरुले हरेक वर्ष श्रमदान गर्दै आएका हुन् । ‘यो सरसफाई गर्न एक/दुई परिवारको बशको कुरा हुँदैन । हरेक वर्ष मंसिरमा सबैले कम्तीमा चार दिन श्रमदान गर्नुपर्छ,’ स्थानीय बाबुराम चौधरीले भने ।

सोमबार उनीहरुले काँडा गाउँको पुलमा भेला भएर भजनी–३ काँडा, चकुलिया र पेरहन्नी गाउँको बीचबाट बग्ने कुलो सरसफाइ गरेका थिए । वडा–१ का डाँगा भजनी, गौनैया, चकुलिया, ठेगरपुर, मधुवन, सिर्जनाबस्ती गरी ६ गाउँ, वडा २ का रजवारा र वडा ३ का काँडा, पडरिया, ठेकीपुर, पकरियापुर र ढुसीका गरी १२ गाउँका ४ सय १ परिवार सरसफाईमा आबद्ध थिए ।

कुलाे सफाईकाे काम गर्ने तरिका पनि पुस्तौंदेखिकै छ । ४ सय जनालाई ६–७ जनाका दरले समूह बनाउँछन् । सानो समूहमा काम गर्न सजिलो हुने भएकाले यस्तो गर्दै आएको बाबुरामले सुनाए । एउटा बाँसको करिब चार मिटर लामो लठ्ठी बोकेका हुन्छन् । एउटा समूहलाई चार मिटर भाग लगाइन्छ । अनि कोही झार काट्न, कोही ढिस्को सफा गर्न त कोही माटो पन्छाउन खटिन्छन् । ‘कुलो सरसफाईका बेला हामीहरुलाई पर्व आए जस्तै उत्साह हुने गर्छ,’ बाबुरामले भने ।

उनीहरुको खटनपटन तथा व्यवस्थापन काँडा भजनी जल उपभोक्ता समितिले गर्दै गरेको छ । गाउँगाउँबाट परिचालन गर्ने काम भने स्थानीयले स्वमंसेवी रुपमा गठन गरेको टोल विकास संस्थाका पदाधिकारीले गर्छन् । ‘सिँचाइ लाग्ने भजनीका १२ गाउँको यो साँझा कुलो हो । पुर्खादेखिकै यो कुलो वर्षमा एक पटक सफाई गर्ने परम्परा नै हो,’ जल उपभोक्ता समितिका अध्यक्ष बेनुलाल चौधरी भन्छन्, ‘गाउँबाट को आए, को आएनन् भन्ने रेखदेख र परिचालन गर्ने काम टोल विकास समितिले गर्छन् ।

श्रमदानकाे काम बिहान १० देखि साँझ ४ बजेसम्म काम चल्छ । हरेक परिवारबाट एक जना अनिवार्य सहभागी हुनुपर्ने नियम छ । हरेक साँझ प्रत्येक गाउँगाउँको बेग्लाबेग्लै हाजिर लगाउने चलन छ । पूर्वजानकारी नदिइ अनुपस्थित हुनेलाई भने दैनिक ६ सय रुपैयाँ जरिवाना गर्ने शिव पार्वती टोल विकास संस्था रजवाराकी अध्यक्ष सरस्वती चौधरीले बताइन् । ‘१२ गाउँमा गठन भएका १७ वटा टोल विकास संस्थाका पदाधिकारीले स्वंमसेवी रुपमा परिचालनको काम गर्छन्,’  सरस्वतीले भनिन्  ‘यो काममा भलमान्साहरुले पनि सघाउँछन् ।

तीन दशकअघिसम्म पनि पहाडका बासिन्दाले भजनी क्षेत्रलाई ‘मलवार‘ भन्थे । यहाँ अहिले जस्तो बाक्लो बस्ती थिएन । पछिल्ला दशकमा भजनीको अनुहार बद्लिएको छ । पहाडबाट बसाइँ सरेका परिवारका घरहरु बाक्लिँदै गएका छन् । ‘हामी सरकारको मुख ताकेर बस्दैनौं । कुलो हाम्रो, खेत हाम्रो हो, भविष्य पनि हाम्रै हो । त्यहीँ भएर हामी आफैं जुट्छौं,’ भजनीका अगुवा हरिराम चौधरीले भने  ‘खेतीयोग्य जमिन मासिँदै गएर आवास क्षेत्र विस्तार हुँदै गएकोमा चिन्ता लाग्छ ।

उनीहरु श्रमदानमा कुलो सरसफाई गर्ने आफ्नाे परम्परामा गर्व गर्छन् । ‘हाम्रो सामुदायिक एकता र श्रमदानको नमुना जस्तै हो यो काम, सरकारको मुख ताक्ने गरेको भए सायद कुलो उहिल्यै बन्द हुन्थ्यो होला,’ रजवाराका भीम चौधरी भन्छन्, ‘आफ्नो कामका लागि सरकारको मुख पनि ताक्दैनौं । गाउँका अरु काम पनि सबै जुटेर आफै समाधान गर्दै आएका छौं ।

– अर्जुन शाह